अध्यक्ष प्रचण्डद्वारा माओवादी स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस

काठमाडौं । पेरिस डाँडामा आज बसेको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सकिएको छ । आज बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् ।

बिहीवारदेखि पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा शुरु भएको  बैठकमा अध्यक्ष दाहालले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा लिखित प्रतिवेदन पेस गरेका हुन् ।

अध्यक्ष दाहालले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । बैठकमा अध्यक्ष दाहालले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा (एमाले)सँग सहकार्य गर्नुपरेको अवस्थाको बारेमा ब्रिफिङ गरेको उनले बताए ।

उनले भने, ‘सरकार बन्नुभन्दा पहिले चुनावमा, चुनावको स्थिति, हाम्रो स्थिति, पार्टीको स्थिति अनि सरकार बन्ने बेलामा हामी गठबन्धन छोडेर अर्को सहमति गर्न पुग्यौँ । त्यो स्थिति । र अहिले सरकार कसरी चलिरहेको छ भन्नेमा उहाँले ब्रिफिङ गर्नुभयो ।’

बैठकले पार्टीको नेतृत्वमा सरकार बनेकोमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहाललाई बधाई दिएको छ भने उपमहासचिव वर्षमान पुनको स्वास्थ्य लाभको कामना गरेको छ ।

बैठकमा पार्टी एकता र सङ्गठन बिस्तार बारेमा एजेण्डा रहेको र शुक्रवार बस्ने बैठकमा सो विषयमा छलफल हुने बताइएको छ ।स्थायी कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।माओवादीका कतिपय नेताहरुले राष्ट्रिय सहमतिमा आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताएका छन् ।

त्यस्तै, यति एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकाहरूप्रति पनि श्रद्धाञ्जली व्यक्त गरिएको उपाध्यक्ष महराले जानकारी दिए ।

You might also like
Comments
Loading...