सोमवार, पुस २९, २०८१
English
Follow us:

हिसानको आठौँ राष्ट्रिय महाधिवेशन चैत २५ र २६ गते काठमाडौंमा

हिसानको आठौँ राष्ट्रिय महाधिवेशन चैत २५ र २६ गते काठमाडौंमा

  • खबर सेवा

  • बिहिबार, चैत्र २४, २०७८

  • 8
    SHARES

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशन यही चैत २५ र २६ गते काठमाडौंमा हुँदैछ । महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको हिसानले जनाएको छ । ‘शिक्षा विकासमा सार्थक साझेदारीः हिसानको योगदान र जिम्मेवारी’ नाराका साथ मुलुकभर सञ्चालित निजी शिक्षालयहरुकोे राष्ट्रव्यापी सञ्जाल मानिने सो संघको महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछन् ।

अधिवेशनका अवसरमा नेपालमा शिक्षाको सबलीकरण र निजी क्षेत्रको योगदान भन्ने विषयमा एक दिवसीय हिसान शिक्षा बहसको कार्यक्रम पनि राखिएको अध्यक्ष रमेशकुमार सिलवालले जानकारी दिए । महाधिवेशनले नेपालभर सञ्चालित निजी शिक्षालयहरुबीचको एकतालाई मजबुत तुल्याउन, निजी शिक्षालयहरुको समस्याहरू पहिचान गरी सामूहिकरूपमा समस्या समाधान गर्न, दबाब समूहका रूपमा कार्य गर्न, नीति निर्माणमा सकारात्मक भूमिका खेल्न तथा शैक्षिक एवं प्राज्ञिक विकासको कार्यमा महत्वपूर्ण योगदान दिनेछ ।

हाल सञ्चालनमा रहेका निजी लागानीबाट सञ्चालित माध्यमिक विद्यालय तथा उच्च शिक्षालयहरुमा करिब पाँच लाख ५० हजार विद्यार्थीहरू अध्ययनरत छन् भने दुई लाखभन्दा बढी शिक्षक, प्राध्यापक एवं कर्मचारी प्रत्यक्ष तथा लाखौँले अप्रत्यक्ष रोजगारी पाएका छन् । आठौँ महाधिवेशनमा ३५ जिल्लाका ६०० वटा शिक्षालयबाट प्रतिनिधिको सहभागिता र ५० जना पर्यवेक्षकहरु गरी ६५० जनाको उपस्थिति रहने छ ।

उत्कृष्ट शिक्षा नेपालमै भन्ने नारा साथ उकृष्ट शैक्षिक संस्था र कार्यक्रम हुँदाहुँदै पनि विदेशी शिक्षाको नाममा वार्षिकरूपमा हजारौँ विद्यार्थीहरु बाहिर जाने र अर्बौँ रुपैयाँ बाहिरिरहेको सन्दर्भमा शिक्षालय सञ्चालकहरु र सरकार संवेदनशील हुन जरुरी भएको हिसानले जनाएको छ । अध्यक्ष सिलवालले सरकारले ठोस प्रस्ताव ल्याए आफूहरु सामुदायिक शिक्षा क्षेत्रसँग असल अभ्यास आदानप्रदानका लागि हातेमालो गर्न तयार रहेको जनाए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology