समाचार

आफ्नो जित पक्का भएपछि बालेनले भने ‘अहिले विजय जुलुस भनेर अरूलाई पराजित भन्ने सङ्केत नगरौँ’

काठमाडौं  ।  काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले घोषणापत्रमा भएका कुराहरू लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला भनेका छन् । साथै उनले निर्वाचनको परिणामलाई जित-हारको रुपमा नहेर्न आग्रह गरेका छन् ।

शाहले आफू निर्वाचित हुने सुनिश्चित भएपछि उनले फेसबुक पेजमार्फत एक वक्तव्य जारी गरी आफ्नो समर्थकहरूलाई विजय जुलुस नगर्न र त्यसकै नाममा विभिन्न जिल्लाबाट काठमाडौँ नधाउन आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौँ महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरूले हामीलाई विश्वास गर्नुभएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जित वा हार हुँदैन ।’

‘जित–हारलाई मतगणना सकिएसँगै सकिदिऊँ । घोषणापत्रमा भएका कुराहरू लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला’ उनले वक्तव्यमा भनेका छन्, ‘अहिले विजय जुलुस भनेर अरूलाई पराजित भन्ने सङ्केतसम्म पनि नगरौँ।’

 

निर्वाचित हुनेले अरू प्रतिस्पर्धीको तुलनामा ज्यादा मत ल्याए पनि बहुमत नल्याएको भन्दै उनले आफूलाई मतदान नगर्नेहरूको भावनामा समेत चोट नपर्ने गरी काम गर्ने प्रतिबद्धता गरेका छन् । उनले महानगरको उन्नतिका लागि सबैसँग सहकार्यको आग्रह गरेका छन् ।

ठाउँ ठाउँबाट विजय र्‍यालीका नाममा काठमाडौँ आउने तयारी भएको सुनिएको भन्दै उनले काठमाडौँ आउने ‘दुःख नगर्न’ आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ ।’उनले बरु आ-आफ्नो ठाउँबाट धन्यवाद र्‍याली गर्न आग्रह गरेका छन् । आफ्नो अभियानलाई उनले नेपालभरको अभियान बनाउन आग्रह गरेका छन् ।

’निर्वाचित भएदेखि आफ्नो वास्तविक परीक्षा सुरु भएको भन्दै उनले आफ्नो कामकारबाहीलाई खबरदारी गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘अबको हाम्रो पहिलो यात्रा काठमाडौँको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडि बढौँ।

वक्तव्यको पूर्णपाठ !

स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौँ महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरूले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जित वा हार हुँदैन ।

जित-हारलाई मतगणना सकिएसँगै सकिदिऊँ । घोषणापत्रमा भएका कुराहरू लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरूलाई पराजित भन्ने सङ्केतसम्म पनि नगरौँ ।

यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन । मेरो स्वयंको पनि बढीमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरू बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरूले अरूलाई छनौट गर्नुभएको छ । हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनुपर्ने काम वा सङ्केत भएको छ कि भन्नेमा ध्यान दिनुपर्छ । र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ ।

दोस्रो, ठाउँ ठाउँबाट र्‍यालीका लागि काठमाडौँ आउने कुराहरू एकदमै धेरै सुनिरहेका छौँ । हाम्रो अनुरोध के हुन्छ भने तपाईँहरू कोही पनि र्‍यालीका लागि काठमाडौँ आउने दुख गर्नु पर्दैन । यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ।

अभियानको अहिलेसम्मको सफलताका लागि खुसीयाली प्रकट गर्ने नै हो भने पनि तपाईँ रहेकै क्षेत्रमा ’धन्यवाद र्‍याली’ गर्नु होला । त्यसले सो स्थानमा बढी प्रभाव छोड्छ । नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ । ’बालेन’हरुका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ । यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ ।

अबको बाटो सहज छैन । हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरु हुनेछ । हामीले हिँड्ने सही बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरूले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ ।

हामीलाई साथ र सुझाव जति महत्त्वपूर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको । हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला । अनि हाम्रो अभियानको ऊर्जाको लागि हामी सधैँ तपाईंहरुसँग जोडिरहेका हुन्छौँ । तपाईँहरूको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ ।

अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ। हरेक टोलटोल र गाउँ गाउँमा ‘बालेन’हरू भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन् ।

अबको हाम्रो पहिलो यात्रा काठमाडौँको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडि बढौँ।

सम्बन्धित समाचार

खोटाङमा आफैलाई छुरा प्रहार गरेर पुरुष गम्भीर घाइते

खोटाङ । खोटाङमा एक ब्यक्तिले आफैलाई छुरा प्रहार गरी गम्भीर घाइते भएका छन् । घरायसी विवादमा आफैले आफैलाई छुरा प्रहार...

बागलुङमा स्कुल बस दुर्घटना अपडेट : एक विद्यार्थीको निधन, २५ घाइते

बागलुङमा स्कुल बस दुर्घटना अपडेट : एक विद्यार्थीको निधन, २५ घाइते

चितवन । बागलुङ नगरपालिका १, रामरेखामा सञ्चालित न्यू एभरेस्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा एक विद्यार्थीको ज्यान...

कति छ काठमाडौंको तापक्रम?

कति छ काठमाडौंको तापक्रम?

काठमाडौं । आज (शुक्रबार) काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका जानकारीअनुसार बिहान ५:४५ बजे...

महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्नका लागि चार मार्गबाट प्रवेश गर्ने

महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्नका लागि चार मार्गबाट प्रवेश गर्ने

काठमाडौं। महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्नका लागि चार मार्गबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ। बिहीबार पशुपति क्षेत्र विकास कोषले पत्रकार...