सोमवार, बैशाख १५, २०८२
English
Follow us:

सप्तरी-२ मा हरेक पटक नयाँ इतिहास, यसपटक डा राउत

सप्तरी-२ मा हरेक पटक नयाँ इतिहास, यसपटक डा राउत

  • खबर सेवा

  • शुक्रबार, मंसिर ९, २०७९

  • 17
    SHARES

सप्तरी । मङ्सिर ४ को निर्वाचनसम्म धेरैको अनुमान थियो सप्तरी क्षेत्र नं २ मा यसपटक नयाँ इतिहास कायम हुनेछ । तर त्यो अनुमान फेल भयो किनभने यहाँ यो निर्वाचनमा पनि नयाँ अनुहारको विजय भयो । यो निर्वाचन क्षेत्रले पुरानै इतिहास कायम गर्दै यसपटक पनि जनप्रतिनिधिका रुपमा नयाँ अनुहार निर्वाचित गरेको छ ।

अहिलेसम्मका निर्वाचनमा जनप्रतिनिधिका रुपमा नयाँ अनुहार निर्वाचित हुँदै आएको यो निर्वाचन क्षेत्रमा यसपटक पनि जनमत पार्टीका अध्यक्ष डा सीके राउत निर्वाचित भए । डा राउतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई १८ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । डा राउतको ३५ हजार ४२ मत र यादवको १६ हजार नौ सय ७९ मत रहेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।

गत २०७४ सालको निर्वाचनमा जसपा अध्यक्ष यादव यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यस क्षेत्रमा एकपटक निर्वाचित भएका जनप्रतिनिधि पुनःदोहोरिएका छैनन् । पुनःनिर्वाचित भएर सो क्षेत्रमा नयाँ इतिहास कायम गर्ने योजनामा रहेका यादवलाई पनि यस क्षेत्रका मतदाताले छानेनन् । विसं २०४८ को राजनीतिक परिवर्तनयता भएका सात वटा निर्वाचनमा यस क्षेत्रले फरकफरक पार्टीका फरकफरक व्यक्तिलाई जनप्रतिनिधि चुनेको छ ।

विसं २०४८ को निर्वाचनमा नेपाली कांग्रेसबाट हरिप्रसाद राय विजयी भएका थिए । २०५१ सालको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रेणुकुमारी यादव, २०५६ मा तत्कालीन नेपाल सद्भावना पार्टीका अनिस अन्सारी निर्वाचित भएका थिए ।

विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन सद्भावना पार्टीबाट महेश यादव र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादवले संविधानसभा सदस्य बन्ने अवसर यसै क्षेत्रबाट पाएका थिए ।
त्यसैगरी विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जसपा अध्यक्ष यादव विजयी भएका थिए । यस निर्वाचनमा भने जनमत पार्टीका अध्यक्ष डा राउतले पहिलो पटक प्रतिनिधिसभा सदस्यका रुपमा संसद्को यात्रा तय गरेका हुन् ।

राजविराज नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, महदेवा गाउँपालिका, छिन्नमस्ता गाउँपालिका गरी चार पालिका रहेको सो क्षेत्रमा ९५ हजार तीन सय ९४ मतदाता छन् । गत आइतबार सम्पन्न निर्वाचनमा कूल ६४ हजार पाँच सय ६० मत खसेको थियो ।संयुक्त राज्य अमेरिकाको नासाको जागिर छाडेर नेपाल फर्केका ४३ वर्षीय डा राउत एक दशकअघि नेपालको राजनीतिमा प्रवेश गरेका हुन् । दुई ठूला गठबन्धनका उम्मेदवारलाई पाखा लगाएर चुनावी परिणाम आफ्नो पक्षमा पार्न सफल डा राउतसँग मतदाताको ठूलो अपेक्षा रहेको राजनीतिक विश्लेषक देवनारायाण यादवले बताए ।

“जुन परिवेश र पृष्ठभूमिमा डा राउतले चुनाव जित्नुभएको छ पक्कै पनि उहाँका लागि यात्रा तय गर्न सहज छैन”, उनले भने, “निर्वाचनका बेला लोकप्रिय नाराप्रति मतदाताको आकर्षण धेरै बढेको छ, त्यसलाई सहीरुपमा सम्बोधन गर्नु चुनौती छ ।”

नागरिक सञ्जाल सप्तरीका संस्थापक अध्यक्ष सुखराम यादवले मतदाताको चाहना, भावनाअनुसार इमान्दारितापूर्वक काम गर्नुपर्ने उनको काँधमा जिम्मेवारी आएको बताए । यसका साथै सप्तरीको विकासका लागि सञ्चालन भएका रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नरसिंह कलेज, इञ्जिनियरिङ कलेज सञ्चालन, कृषि विश्वविद्यालय जस्ता योजनालाई मूर्तरुप दिनुपर्ने यादवको सुझाव छ ।

डा राउतले मतदाताले आफूमाथि गरेको भरोसा टुट्न नदिने बताए । “मलाई सप्तरीका जनताले ठूलो आशा र भरोसा गरेर जिताएका छन्”, उनले भने, “जनताको विश्वास र भरोसालाई टुट्न दिन्न, जनादेशलाई शिरमा राखेर काम गर्नेछु ।” आफ्नो पहिलो कार्ययोजना सरकारी सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउने उनले बताए ।

सप्तरीलाई शतप्रतिशत शिक्षित जिल्ला बनाउनु, विकराल रहेको कुपोषणलगायतका स्वास्थ्य समस्यालाई हल गर्दै शतप्रतिशत जनताको स्वास्थ्यमा सहज पहुँच पुर्‍याउनु, हरेक परिवारलाई रोजगारीसँग जोड्नु र किसानलाई सहजरुपमा मलखाद्य, बीउबिजन र सिँचाइको व्यवस्था गर्नु आफ्नो एजेण्डा रहेको डा राउतले सुनाए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology