सोमवार, माघ २८, २०८१
English
Follow us:

विद्यार्थी सुन्तला बगैँचामा, विद्यालय भने खाली

विद्यार्थी सुन्तला बगैँचामा, विद्यालय भने खाली

  • खबर सेवा

  • आइतवार, मंसिर २५, २०७९

  • 9
    SHARES
विद्यार्थी सुन्तला बगैँचामा, विद्यालय भने खाली

पूर्ण विके, तनहुँ । व्यास नगरपालिका-११, राम्चेकी १० वर्षीया सोनिका चेपाङ स्थानीय सूर्योदय प्राथमिक विद्यालयको कक्षा ३ मा पढ्छिन्। तर अहिले सोनिकालाई विद्यालयमा भेट्न सकिँदैन। उनलाई आजभोलि सुन्तला बगैँचामा मात्र भेट्न सकिन्छ।

आमासँगै घर नजिकैको बगैँचामा सुन्तला टिप्न जाने गर्दा सोनिका विद्यालय जान नपाएकी हुन्। स्थानीय सूर्योदय प्राथमिक विद्यालयमा पढ्ने चेपाङ समुदायका करिब १९/२० विद्यार्थी आजभोलि विद्यालयमा नभई सुन्तला बगैँचामा भेटिन्छन्।

प्रारम्भिक बालविकासदेखि कक्षा ३ सम्म अध्ययन हुने विद्यालयमा पढ्ने चेपाङ समुदायका विद्यार्थी घरको काम धन्दा आफैँ गर्नुपर्ने भएकोले विद्यालयमा आउँदैनन्। बुबा मजदुरी गर्न र आमा सुन्तला टिप्न हिँडेपछि घरमा खाना पकाउने र बालबालिका हेर्नुपर्दा आफूहरू विद्यालय जान नपाएको कक्षा ३ मा अध्ययनरत १० वर्षीय सुनिल चेपाङले बताए।

‘बा काम गर्न गए, आमा सुन्तला टिप्न,’ ढिला गरी विद्यालय पुगेका सुनिलले भने, ‘भात पकाउने काम गर्नु पर्दा स्कुल आउन ढिला हुन्छ। आमासँगै सुन्तला टिप्न गएको बेला त स्कुल आउनै पाइँदैन।’ आमासँगै आफू पनि सुन्तला टिप्न जाँदा दिनको दुई सय पारिश्रमिक पाउने गरेको सुनिलले बताए।

आमा सुन्तला टिप्न गएको दिन आफूहरूले नै घरमा दाउरा चिर्ने, खाना पकाउने, सिस्नो टिप्ने काम गर्नुपर्दा विद्यालय आउन नपाइने कक्षा ३ का अर्का विद्यार्थी विराज चेपाङले बताए।

स्थानीय तनहुँसुर र छापमा रहेका करिब एक दर्जन सुन्तला बगैँचामा राम्चेका चेपाङ महिलाले प्रत्येक वर्ष सुन्तला टिप्ने काम गर्छन्। आफूहरू सुन्तला टिप्न जाँदा प्रायः काखमा रहेका बच्चा हेर्न र सुन्तला टिप्नसमेत छोराछोरी समेत जाने गरेको व्यास-११ राम्चेकी मनमाया चेपाङले बताइन्। ‘सुन्तला टिप्न जाँदा छोराछोरी पनि सँगै लैजानुपर्छ,’ मनमायाले भने, ‘साना भाइबहिनी हेर्न अरू छोराछोरी लैजानुपर्छ। सुन्तला टिप्ने मौसममा त्यसो नगरी हुँदैन। त्यसपछि त छोराछोरी स्कुल पठाइहाल्छौँ,’ उनले भने।

स्थानीय चेपाङ समुदायका राम्चे र ओढारेका करिब ३१ घरमध्ये राम्चेका–९ घरका २८ चेपाङ विद्यार्थी उक्त विद्यालयमा अध्ययन गर्छन। सुन्तला टिप्न आउँदा चेपाङ महिलाले प्रायः काखमा रहेको बालबालिका खेलाउन अन्य सन्तान पनि साथमै लिएर आउने गरेको व्यास ९ छापका सुन्तला किसान मनबहादुर विक बताउँछन्। बगैँचामा रहेको दुई सय ५० बोटका सुन्तला टिप्ने कार्यमा व्यास ११ राम्चेका चेपाङ महिला नै मजदुरीमा लगाउँदै आएको विकले जानकारी दिए।

आफूहरूले बालबालिकालाई काममा नलगाई विद्यालय पठाउन भन्ने गरेपछि चेपाङ महिलाहरूले सुन्तला टिप्ने समय सकिएपछि मात्र विद्यालय पठाउने भन्ने गरेको विकको भनाइ छ।

चेपाङ समुदायमा श्रीमान् बिहानै मजदुरीमा निस्कने र आमा सुन्तला टिप्न जाने गर्दा मंसिर र पुस महिनामा विद्यालयमा नियमित १०र११ जना मात्रै आउने गरेको विद्यालयले जनाएको छ। सुन्तला टिप्ने समयमा प्राय आफूहरू भन्दा साना भाइबहिनी हेर्न र ठूलालाई सुन्तला टिप्नसमेत चेपाङ महिलाले सुन्तला बगैँचामा लैजाने चलन रहेको विद्यालयकी प्रधानाध्यापक रस्मी थापाले बताए।

‘हामीले विद्यालय नै पठाउन छाडेर सुन्तला टिप्ने काममा छोराछोरी नलैजानुहोस् पटक–पटक भन्ने गरेका छौँ,’ प्रधानाध्यापक थापाले भने, ‘तर सुन्तला टिपेपछि विद्यालयमा पठाइहाल्छौँ नि भनेर चेपाङ भन्ने गर्नुहुन्छ।’ सुन्तला टिप्ने समय मंसिर र पुस महिना भएकोले यो दुई महिना विद्यालयमा उपस्थित नहुने विद्यार्थीका लागि पुनः पाठ दोहोर्‍याउनु पर्ने प्रधानाध्यापक थापाले बताए।

माघ लागेपछि अधिकांश विद्यार्थी नियमित हुने गरे पनि केही विद्यार्थी घरको काम सकेर ढिलो गरि विद्यालय आउने गरेको उनले जानकारी दिए। चेतनाको कमीले गर्दा ज्यालामजदुरी गरी जीविका चलाउँदै आएका स्थानीय चेपाङ समुदायले कामलाई नै पहिलो प्राथमिकतामा राख्दा विद्यार्थी नियमित नभएको विद्यालयले जनाएको छ। ‘बालबालिकालाई पढाउनै पर्छ भन्ने चेनतास्तर ज्यादै कम छ,’ प्रधानाध्यापक थापाले भने।

विसं २०५३ मा स्थापित उक्त विद्यालयमा बालबालिकालाई पढाउनुपर्छ भनेर आफूहरूले विभिन्न कार्यक्रम र छलफल गरे पनि चेपाङ अभिभावकलाई बुझाउन कठिनाइ भएको उनले बताए। रासस


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology