काठमाडौँ। पछिल्लो ताका सरकारको विपक्षमा रहेका पार्टीका शीर्ष नेताहरू निरन्तर भेटघाटमा जुटिरहेका छन्।
उनीहरू विभिन्न बाहनामा भेटघाट गरिएको विषयले सरकारप्रति शंका गर्न थालिएको छ। सरकार ढल्न सक्ने वा सरकारविरुद्ध मोर्चा बनाउने उद्देश्यले विपक्षी जुटेको अनुमान हुँदैछ। हिजो मात्रै पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल भेटघाटमा जुटेका थिए। आज पनि सिंहदरबारमा प्रचण्ड, नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ।
भेटमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चालाई क्रियाशील बनाउने निर्णय गरेका छन् । मोर्चालाई क्रियाशील बनाउन आगामी माघ २ गते समाजवादी मोर्चामा रहेका चार दलको बैठक बस्ने निर्णय भएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए।
उनले मोर्चालाई सक्रिय बनाउने विषयमा नै दलहरूबिच निरन्तर छलफल भएको बताए । प्रचण्डले वर्तमान गठबन्धन अप्राकृतिक भएकाले धरै दिन नटिक्ने टिप्पणी गरेका छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माघ २ गते बैठक बसेर मोर्चालाई क्रियाशील बनाउने र अन्य दललाई पनि मोर्चामा आबद्ध गर्दै लैजाने जानकारी दिए । संविधान संशोधनका विषयमा आफ्नो पार्टीले पनि कार्यदल बनाएको भन्दै संविधानमा देखिएका कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनले बताए ।
अध्यक्ष नेपालले २०८७ सालमा संविधान संशोधन गर्ने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्ति सत्ता नछाड्ने दाउ हो कि भन्दै कटाक्ष गरे । उनले देशको आवश्यकताका आधारमा संविधान संशोधन गर्ने कुरामा पछि हट्न नहुने बताए ।