
काठमाडौं। प्रधानमन्त्री महिला टी–२० क्रिकेट कप विभागीय टोली एपीएफ र सुदूरपश्चिम प्रदेशले जित सुरुवात गरेका छन्। एपीएफले कर्णालीमाथि र सुदूरपश्चिमले गण्डकी प्रदेशलाई हराउँदै जित निकालेको हो। एपीएफका लागि ममता चौधरी र कप्तान इन्दु बर्माको अविजित अर्धशतकीय इनिङ्ससँगै सानदार जित निकालेको हो।
सोमबार सम्पन्न खेलमा साबिक विजेता एपीएफले कर्णाली प्रदेशलाई १११ रनले हराएको हो। एपीएफले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको साबिक उपविजेता कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७१ रन मात्रै बनाउन सकयो।
कर्णालीकी दिक्क्षा पुरीले सर्वाधिक १७ रन बनाइन्। २० बल खेलेकी उनले दुई चौका प्रहार गरिन्। रमा बूढाथोकी १० रनमा आउट हुँदा गौरी बोहरा १० रनमा अविजित रहिन्। अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
एपीएफकी स्पिनर करूणा भण्डारीले सर्वाधिक तीन विकेट लिइन्। चार ओभर बलिङ गरेका उनले ११ रन मात्रै खर्चिइन्। रेखा रावल, सुमना विष्ट र बिनु बूढाको नाममा समान एक विकेट रह्यो।
त्यसअघि धनगढीस्थित फाफ्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एपीएफले २० ओभरमा एक विकेट गुमाउँदै १८२ रन बनायो। ओपनर राजमती ऐरी २२ रनमा आउट भए पनि ममता र इन्दुले दोस्रो विकेट लागि १५८ रनको विशाल साझेदारी गरे।
६६ बलमा १० चौकासहित ममता ७८ रनमा अविजित रहिन्। इन्दुले ३४ बलमा सात चौकासहित ५२ रन बनाइन्।
यता अघिको खेलमा सुदूरपश्चिमले गण्डकीलाई सानदार जित निकाल्यो। गण्डकीले दिएको ५६ रनको लक्ष्य सुदूरपश्चिमले ९।५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। रेवतीले बलिङमा चार विकेट लिइन्। ब्याटिङमा ओपनिङमा उत्रिएकी उनले अविजित २१ रन जोडिन्। २७ बल खेलेकी उनले दुई चौका प्रहार गरिन्।
मनिषा बोहरा नौ, कप्तान विन्दु रावल ६ र कविता कुँवर आठ रनमा आउट हुँदा सोभा रोकायाले अविजित चार रन बनाइन्। गण्डकीका आकृति तिवारी र अपेक्षा बूढाथोकीले समान एक विकेट हात पारे।
त्यसअघि फाफ्लामै टस हारेर ब्याटिङ थालेको गण्डकी प्रदेशले १५ ओभरमा सबै विकेट गुमाउँदै ५५ रन मात्रै बनाउन सक्यो। खराब मौसमका कारण खेल पाँच ओभर घटाइएको थियो। त्यो ५५ रनमा पनि सुदूरपश्चिमका बलर १८ रन अतिरिक्त थपिदिएका हुन्।
गण्डकीकी रेखा तामाङले सर्वाधिक १३ रन बनाइन्। कप्तान सिर्जना पौडलले १० रनको योगदान दिइन्। अन्यले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।
सुदूरपश्चिमकी रेवतीले सर्वाधिक चार विकेट लिइन्। तीन ओभर बलिङ गरेकी उनले नौ रन मात्रै खर्चिइन्। जानकी थापा र ऋतु कौन्जियाको नाममा समान एक विकेट रह्यो।