
काठमाडौँ। २ वर्षअघि राजेश हमाल ‘महानायक’ हुन् वा होइनन् भन्ने विषयले बजार ततायो। निर्देशक दीपा श्री निरौलाले एक कार्यक्रममा भनेको विषय आम नागरिकको गन्थनको विषय बन्यो। दीपालाई तथानाम गाली गर्ने देखि हमालका समर्थक बन्ने लहड बढ्यो। यस्ता ट्याग हमाललाई मात्र होइन अन्य कलाकारलाई पनि लाइन्छ।
कसैलाई ‘एक्सन स्टार’ त कसैलाई ‘मेगास्टार’ वा ‘सुपरस्टार’ जस्ता ‘ट्याग’ भिराइने चलन पुरानो होइन। यस्ता ट्याग कहिलै सर्वमान्य भने बनेनन्। न त ती कलाकारले नै स्वीकारे। यतिबेला यस्तै अर्को ट्यागबारे चर्चा चुलिएको छ। एक्टर अर्थात् कलाकार। यसलाई चर्चामा ल्याउने हुन्, प्रदीप खड्का। खड्का पछिल्ला पुस्ताका चकलेटी कलाकार हुन्। उनलाई फिल्म ‘एक्टरस् टेक वन’को ट्रेलरमा ‘सुपरस्टार’को ट्याग दिएको विषय चर्चामा छ । यो ‘ट्याग’ उनकै चाहनामा राखिएको हो वा निर्मातारनिर्देशकले दिएका हुन् भन्ने चासो धेरैमा देखिन्छ।
बिहीबार पत्रकार भेटघाटमा प्रदीप आफैंले ‘सुपरस्टार’ ट्यागको प्रसंग कोट्याए। यो ‘ट्याग’ राख्न आफूले कुनै दबाब नदिएको उनको भनाइ छ।
भन्छन्, ‘फिल्ममा निर्देशकले मलाई ‘सुपरस्टार’ भनेर लेख्नुभयो। मैले नलेख्नै सुझाव दिएको थिएँ । तर, मैले रोक्न सकिनँ।’ उनी कुनै ‘ट्याग’बाट भन्दा पनि कलाकारको रुपमा चिनिँदा आफूलाई खुसी लाग्ने बताउँछन्। त्यसो त, प्रदीपलाई अर्का कलाकार अनमोल केसीसँग तुलाना गरिन्छ। अनमोल र प्रदीपको फिल्ममा आगमन र पुस्ता एउटै भएकाले पनि तुलना गर्ने चलन छ। अनमोललाई भने ‘मेगास्टार’ को ट्याग भिराइएको छ। अनमोललाई त्यति गह्रो ट्याग भिराउँदा प्रदीप भने एक्टर मात्र हो भनिरहेका छन्।
हुन त अहिले प्रदीप अभिनीत एक्टर फिल्म आउँदैछ। यसैले पनि चर्चा चलाइएको छ। तर प्रदीपको धारणा अलि अलग छ। ‘एकरदुई दिनयता मैले सोचिरहेको छु कि बलिउडमा ‘सुल्तान’ खेलेर कलाकारलाई सुल्तान भनेजस्तो ‘एक्टर’ रिलिजपछि ‘एक्टर प्रदीप’ भनिन थालियो भने त्यो चाहिँ ठूलो उपलब्धि हुन्छ जस्तो लाग्छ । र, त्यसमा म पनि हर्षित हुने थिएँ,’ उनी भन्छन्, ‘कसैले मलाई ‘स्टार’ र ‘सुपरस्टार’ बनाए पनि खासमा बन्नुपर्ने भनेको त एक्टर हो । त्यसमाथि ‘एक्टर’ शीर्षकमै फिल्म बनेको छ ।’
फिल्ममा प्रदीपलाई ‘सुपरस्टार’को ट्याग दिएको विषयमा निर्देशक तथा लेखक राजन भुसालले पनि प्रष्ट पार्ने प्रयास गरे । दर्शकले प्रदीपलाई ‘सुपरस्टार’को रुपमा स्वीकार गरिसकेको अवस्थामा यो ‘ट्याग’ दिन बरु ढिलाइ भएको उनको बुझाइ छ ।