बुधबार, चैत्र १२, २०८१
English
Follow us:

 श्रमिक कम्युनिष्ट पार्टी विघटन भएको दाबी  (विज्ञप्तिसहित)

 श्रमिक कम्युनिष्ट पार्टी विघटन भएको दाबी  (विज्ञप्तिसहित)

  • खबर सेवा

  • आइतवार, माघ १३, २०८१

  • 710
    SHARES

काठमाडौं। मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टी लगायत विभिन्न पार्टीबाट विद्रोह गरी गत वैशाखमा घोषणा गरिएको श्रमिक कम्युनिष्ट पार्टी विघटन भएको दाबी गरिएको छ।

क्रान्तिकारी माओवादीका सचिवालय सदस्य पूर्णबहादुर सिंहको नेतृत्वमा घोषणा भएको सो पार्टीले सच्चा कम्युनिष्ट तथा श्रमजीवीको भावनाअनुसार काम गर्न नसकेको भन्दै पार्टी विघटन गरिएको दाबी राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा अन्तराष्ट्रिय विभाग प्रमख लोकेश विश्वकर्मा लगायत २५ जनाद्वारा हस्ताक्षर गरिएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ।

उनीहरुले जनताको त्याग, समर्पण र बलिदानबाट प्राप्त उपल्बधि वास्तविक कम्युनिष्ट बाहेक अरुले गर्न नसक्ने हुँदाहुँदै पनि विभिन्न आरोप लगाउँदै पार्टी बनाउने र पुरानै धन्दा चलाउने प्रवृत्ति हाबी भएको आरोप लगाएका छन्।विज्ञप्ति जारी गर्नेमा विदेश विभाग प्रमुख विश्वकर्मासहित राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्यहरु रणबहादुर वि क, भिमसेन भट्ट, रोहित खत्री, वि एस पौडेल, ढुण्डिराज अधिकारी, विनोद भट्टराई, नवराज भुषाल, जितु तामाङ रहेका छन्।

त्यसैगरी, सल्लाहकार समिति संयोजक शैलेश श्रेष्ठ, शिक्षा विभाग सदस्य श्रीराम बन्जरा, युवा संगठन प्रमुख डायमण्ड सिम्खडा, नेवा काठमाडौं संयोजक उदयविर शाक्य, लेखा परीक्षण विभाग प्रमुख लक्ष्मण भुषाललगायत रहेका छन्।

‘श्रम गर्न नचाहने अनि चौतर्फी बाटा बन्द भएपछि कम्युनिष्ट पार्टीको आर्थिक रसिद बोकेर जीवन चलाउनु अमसक व्यक्ति वा संगठनको मामिला मात्र होइन, यो विचारको तहमा देखिएको गम्भीर विचलन हो,’ सो समुहले विज्ञप्ति मार्फत भनेको छन्।

कम्युनिष्ट भन्न चाहने बन्न नचाहने, क्रान्तिकारी देखिनुपर्ने तर हुनु नपर्ने जस्ता प्रवृत्तिको अन्त्य गर्न नसके जनविश्वास प्राप्त नहुने उनीहरुको जिकिर छ।श्रमजिवी वर्गको मुक्ति र वैज्ञानिक समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्य बोकेको पार्टीको नेतृत्वले बैठक राख्न नसकेको आरोप लगाउँदै सो समुहले विचार एवं व्यवहारमा देखिएका तममाम असफलताका कारण पार्टी विघटनको निस्कर्षमा पुग्नुपरेको दाबी गरिएको छ।

‘माओले पार्टी विघटनको प्रमुख कारण गलत विचारधारा र कार्यदिशालाई ठाने जस्तै लामो समयसम्म कार्यदिशा बिहीनताको अवस्थामा रहनु पनि बीभत्स विघटन हुनु सरह नै हो,’ सो विज्ञप्तिमार्फत भनिएको छ, ‘सही विचारधाराले मात्रै आन्दोलनको स्थायित्व र विकास सम्भव छ। जहाँ जो भेट्यो त्यहि ठिक र सही भन्दै लहसिने तरिका मालेमावादको ठिक विपरितनै हो।‘

सो समुहले पार्टीमा जबर्जस्त हुर्काउन खोजिएको गलत प्रवृत्तिको अन्त्य र क्रान्तिकारी यात्राको सुनिश्चित गर्न पार्टी विघटनको निर्णय लिनुपरेको बताएको छ।

साथै सो पार्टीका सम्पूर्ण गतिविधिहरु आफूहरुले बन्द गरेको उनीहरूले जानकारी गराउँदै आगामी दिनमा कम्युनिष्टहरुको एकता र मोर्चाबन्दीमा जाने निर्णय समेत उनीहरुले गरेका छन्।

 

यस्तो छ प्रेस विज्ञप्ति

नेपाली राजनीतिक इतिहास संघर्ष, बलिदान र परिवर्तनका असंख्य उत्तार–चढावले भरिएको छ । हाम्रो धर्तीमा भएका सबै जनसंघर्ष, जन–आन्दोलन, जनयुद्ध र एकीकृत जनक्रान्तीका सहिद, वेपत्ताहरुको बिशेष स्मरण सहित उच्च सम्मान साथै घाइते योद्धाको शिघ्र स्वास्थ्य लाभको शुभेच्छा व्यक्त गर्दछौं । आन्दोलनका विभिन्न चरणमा योगदान गर्ने नेतृत्व, पार्टी पंक्ति र आदरणीय जनसमुदाय प्रती हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

जनताले कम्युनिस्ट आन्दोलनलाई अभुतपुर्व प्रेम गर्दै बलिदानी समेत दिएका छन । परन्तु कम्युनिस्ट आन्दोलनमा देखापरेका बिचलनका कारण आफ्नो मुलभुत उद्देश्य पुरा गर्न सकेको छैन । सर्वहारा, श्रमजीवी, मजदुर, किसान, शोषित र उत्पीडित जनताको अग्रदस्ता बन्नुपर्ने कम्युनिस्ट पार्टी र तिनका अगुवाहरु लक्ष्य र उद्देश्य प्रती इमानदार र दृढ देखिएनन् । संसदमा रहेका कम्युनिस्ट भन्नेहरु सडकमा चर्का र सत्तामा गुलिया कुरा गर्ने गफास्ट जस्ता बनेकाछन । संसद बाहिरका क्रान्तिकारी शक्ति एकतामा आलस्य र फुटमा रमाउने जस्ता देखिएका छन् । कतिपयले त झण्डा बेचेर गुजारा चलाउने लज्जास्पद काम समेत गरिरहेका छन् ।

युवाहरूलाई विदेशमा श्रम बेच्न बाध्य पार्ने र उनीहरूलाई उपेक्षित दासको भूमिकामा सीमित गराउने परिस्थितिको मुख्य जिम्मेवार दलाल संसदीय व्यवस्था नै हो । यो व्यवस्था, जसले जनताको आवश्यकता र भविष्यलाई गौण बनाउँदै केवल सत्तामा टिक्नका लागि काम गरेको छ । देशभित्र रोजगारी र अवसर सिर्जना गर्न पुर्णतः असफल भएकोछ । यस्तो स्थितिका लागि कम्युनिस्टको नाम भजाएर व्यक्तिगत स्वार्थपूर्तिमा लाग्नेहरू पनि उत्तिकै जिम्मेवार छन् । जनताको आस्था, विश्वास र समर्थनलाई उपयोग गरेर समाज परिवर्तनको ठूला आश्वासन दिने तर त्यसलाई व्यवहारमा उतार्न असफल हुनेहरूले देश र जनताप्रति गम्भीर अन्याय गरेका छन् ।

विभिन्न आरोप लगाउदै पार्टी बनाउने र पुरानै धन्दा चलाउने कुरा आन्दोलन माथी कै गद्दारी हो । श्रम गर्न नचाहने अनि चौतर्फी बाटा बन्द भएपछि कम्युनिस्ट पार्टीको आर्थिक रसिद बोकेर जीवन चलाउनु अमुक ब्यक्ती या संगठनको मामिला मात्र होइन, यो बिचारको तहमा देखिएको गम्भीर बिचलन हो । यसको समाधान खोज्नु कम्युनिस्ट क्रान्तिकारीको आधारभुत दायित्व हो ।

जनताका त्याग, समर्पण र बलिदानबाट प्राप्त उपलब्धिको वास्तविक रक्षक कम्युनिस्ट बाहेक अरु हुनै सक्दैनन । कम्युनिस्ट भन्न चाहने बन्न नचाहने, क्रान्तिकारी देखिन पर्ने हुन नपर्ने जस्ता प्रवृत्तिलाई नेस्तनाबुद नगरी जनविस्वास प्राप्त हुनेछैन । जसका लागि बैचारिक, संगठनात्मक एवं संघर्षका शृङ्खलाबद्ध मोर्चा बन्दीमा तयार हुनैपर्छ । नेपाली कम्युनिस्ट आन्दोलनका थाती रहेका कार्यभारलाई दृढतापुर्वक पूरा गर्नैपर्ने हुन्छ । क्रान्तिकारी बन्न अघिल्लो पुस्तालाइ अनिवार्य गाली गर्नैपर्ने तरिकालाई खारेज गर्नैपर्दछ । वर्तमान परिस्थितिले सुम्पेको जिम्मेवारीलाई कुशलतापुर्वक सम्पन्न गर्न अघिल्लो पुस्ताले गरेका असल काम जग हुनभने सिमाकमजोरीहरु शिक्षा हुनेछन । आन्दोलनलाई नयाँ उचाईमा उठाउन मालेमाको सार्वभौमिकतालाई आत्मासाथ गर्दै नेपाली क्रान्तिको अभियानात्मक पुनर्गठनको आवस्यकता गहिरोगरी बोध गरेका छौँ ।

यसै सन्दर्भमा २०८१ वैशाख १७ गते मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी लगायत विभिन्न पार्टीहरुबाट विद्रोह गरी नयाँ अभियानको घोषणा गरेका थियौं । गत जेठको १७–१८ गते काठमाडौंमा विशेष भेलागरी श्रमिक कम्युनिस्ट पार्टी नेपाल राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेका थियौ । जसले जनतामा जाऔं जनताको सेवा गरौं । भन्ने मूल नाराका साथ ६ महिने अभियान सहित मंसिरमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियोे । अफसोच न अभियान भयो न त राष्ट्रिय सम्मेलन । त्यसपछि गत असोज (१( २) मा बसेको बिस्तारीत बैठक (१७ जना केन्द्रिय सदस्य सहभागी) ले गत पौष २२ गते केन्द्रीय समितिको बैठक र माघ १६ देखि २० गते सम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरि सर्कुलर जारी भएको थियो । तर कुनै पनि सूचना बिनै बैठक नबस्नु र सम्मेलन नै अनिश्चित हुनेगरी संयोजन को भूमिकामा रहेका कमरेड नै सम्पर्क बाहिर रहनु बिडम्बनापुर्ण रह्यो । बहुमत सदस्यले बैठकको माग गर्दा समेत बैठक नराख्नु राजनीतिक नैतिकताको बिषय हो । यसले नेतृत्व गर्नेको बुझाइ, गराइ, क्षमता र इमान मात्र होइन सिंगो कमिटी माथी नै गम्भीर प्रश्न उठ्ने स्थिति बन्यो । माक्र्सवाद, लेनिनवाद, र माओवादलाई मार्गदर्शक सिद्धान्त बनाएर कम्युनिस्ट अभियान चलाउने संकल्प गरेको पार्टीले बैठक सम्म गर्न नसक्ने स्थिति बन्नु हदै सम्मको लज्जास्पद बिषय हो । श्रमजिवी वर्गको मुक्ति र वैज्ञानिक समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्य बोकेको श्रमिक कम्युनिस्ट पार्टीको बिचार एवं व्यवहारमा देखिएका यी तमाम असफलताले हामी लक्ष्यको विपरीत र उद्देश्यको उल्टो गतिमा भएको निर्मतापुर्वक स्वीकार गर्दछौ ।

नेपालको सामाजिक संरचना वर्गीय, जातीय, क्षेत्रीय एवं लैङिगक असमानताले थिलोथिलो भएको छ । एकातर्फ, साम्राज्यवादी शक्तिले देशको राजनीतिक र आर्थिक स्रोतमाथि नियन्त्रण गर्दै छन् भने अर्कोतर्फ नेपाली जनता दलाल संसदिय ब्यवस्थाको भुङ्रोमा पिल्सिएका छन । माक्र्सले भनेझैं, “मानव इतिहास वर्ग संघर्षको इतिहास हो ।’’ तर, आज नेपाली समाजमा वर्ग संघर्षलाई तीव्र पार्ने, साम्राज्यवादी शक्तिहरूलाई चुनौती दिने र श्रमजिवी वर्गलाई संगठित गर्ने प्रयास कमजोर हुँदै गैरहेकोे छ । श्रमिक वर्गको नेतृत्व गर्ने पार्टीले आफ्नो वैचारिक दृढतालाई संगठनात्मक गतिविधिले राम्रोसँग पक्रिनु पर्नेहुन्छ । तर, श्रमिक कम्युनिस्ट पार्टीले यो भूमिका निर्वाह गर्न नसकेको साझा निष्कर्ष निकालेका छौ । सिंगो पार्टीलाई नै कुहिरोको काग बनाउने प्रयत्न भयो । कतिसम्म भने केन्द्रिय समितिमै फर्जी बिल र काल्पनिक हिसाबहरु प्रस्तुत हुदैगए । राष्ट्रिय सम्मेलकै नाममा सयौं आर्थिक पत्र बाँडिने तर केन्द्रिय समितीको बैठकसम्म बस्न नसक्ने परिस्थिति बन्यो । केवल चन्दा उठाउनु मात्र मूल्यांकनको आधार बनाउन खोजियो । बिना कारण चन्दा उठाउन नहुने तर्क गर्ने ठुलो पंक्तिदेखी केही मानिसहरू आंतकित भए । यसले हाम्रो आन्दोलनमा उठ्ने गरेका आर्थिक अनुशासनको कुरालाइ थप शंकास्पद बनायो । यसरी राष्ट्रिय सम्मेलनको मिति दुई पटक (मंसिर र माघ १६) तोकिनु तर नगर्नु कुनै संयोगमा मात्र सिमित हुनसक्दैन । सामान्य कोरम समेत नपुगाइ बैठक राख्ने, सर्कुलर जारी गर्ने तर त्यसकै कार्यन्वयन आफैंले समेत नगर्ने कुराले संयोजनकारी भुमिकामा रहेकाको बुझाइ अनि गराइ छलकपट र संसयपुर्ण देखियो । मालेमावादी बिधीपद्धती लाग ुगर्न नसक्दा, पार्टीभित्र फर्जी बिचार र गुजारा परिचालन हावी भयो । कतिसम्म भने मालेमावादको आलोकमा बनेको पार्टीलाई नाफामुखी निजि कम्पनीकै तहमा भ्रष्टीकरण गर्न खोजियो । नेकपाका संस्थापक नेता कमरेड पुष्पलालका बारेमा बोलेको बिषयमा बैठकमै लिखित आत्माआलोचना गर्ने तर पटकपटक त्यही दोहोर्याउने काम भयो । यी र यस्ताखाले बिषयमा समेत मौनता साँध्नु न्युनतम आलोचनात्मक चेत पनि नभएका भन्ने ठहरिन्छ । विभिन्न कमिटीमा कमरेडहरुले बिचार दृष्टिकोण, राजनीति, कार्यशैली लागायत पारदर्शिताको बारेमा उठाएका प्रश्नहरुको उचित जवाफ दिनुको सट्टा अन्तर व्यक्ति विरोधाभास सिर्जना गरि गैरराजनीतिक ढंगले प्रस्तुत हुनु वैचारिक अस्पष्टता र असक्षमता प्रदर्शित भएको छ । कम्युनिस्ट आन्दोलनमा यस्तो प्रवृत्तिको कुनै स्थान हुँदैन ।

जनताको मुक्तिको सपना र श्रमिक वर्गको अधिकार सुनिश्चित गर्न वैज्ञानिक समाजवादी अभियानलाइ सबैखाले विचलनबाट मुक्त गर्नैपर्छ । वास्तविक नेपाली कम्युनिस्ट आन्दोलनलाइ पुनर्गठन गर्न बैचारिक स्पष्टता, संगठनात्मक सुदृढता, र संघर्षको नयाँ ऊर्जा आवश्यक रहेको छ । लेनिनले भने जस्तै सच्चा क्रान्तिकारी भनेको आफ्ना गल्ती स्वीकार गर्न, तिनको विश्लेषण गर्न र संघर्षलाई अगाडि बढाउन सक्षम व्यक्ति हो । हामीले यो उद्धरणलाई गहिरो मर्मबोध गर्दै कमजोरी प्रती निर्ममतापुर्वक समीक्षा गरेका र्छौँै । माओले भने जस्तै यदि हामीसँग कमजोरी छन् भने, तिनको आलोचना हुनुलाई हामीले डर मान्नु हुँदैन, किनभने हामी जनताको सेवा गर्छौँ । यही आलोकमा हामीले भनेका तर गर्न नसकेका कुराहरु प्रती सिङ्गो पार्टीपंक्तिले नैतिक जिम्मेवारी लिन चाहन्छौं । माओले पार्टी विघटनको प्रमुख कारण गलत विचारधारा र कार्यदिशालाई ठाने जस्तै लामो समयसम्म कार्यदिशा बिहिनताको अवस्थामा रहनु पनि बीभत्स विघटन हुनु सरह नै हो । त्यसैले सहि विचारधाराले मात्रै आन्दोलनको स्थायित्व र विकास सम्भव छ । जहाँ जो भेट्यो त्यही ठिक र सहि भन्दै लहसिने तरिका मालेमावादको ठिक विपरीत नै हो । त्यसैले पार्टीमा जबर्जस्त हुर्काउन खोजिएको गलत प्रवृत्तिको अन्त्य र क्रान्तिकारी यात्राको सुनिश्चित गर्न पार्टी विघटन जस्तो निर्मम निर्णय लिन बाध्य भएका छौं त्यसैकारण श्रमिक कम्युनिस्ट पार्टी विघटन गरी समग्र पार्टी पंक्ति बैचारिक एकता अभियानमा होमिएको घोषणा गर्दछौं । साथै पार्टी नै विघटन गर्नुपर्ने अवस्थामा प्रती दुख व्यक्त गर्दै श्रमिक कम्युनिस्ट पार्टीको नामका सम्पुर्ण गतिविधिहरु पुर्णतः बन्द गरेको जानकारी गराउदछौं ।

अन्त्यमा संगठनात्मक संरचनाको निर्माण वा विघटन कुनै असामान्य घटना होइन; यो ऐतिहासिक आवश्यकता र द्वन्द्वात्मक प्रक्रियाको अभिव्यक्ति हो । समाज परिवर्तनको यात्रा निरन्तर संघर्ष र पुनरावलोकनको गतिशीलतामा आधारित हुन्छ । विघटनलाई पराजयको रूपमा बुझ्नु एक यान्त्रिक दृष्टिकोण हुनेछ । यसलाई क्रान्तिकारी आन्दोलनको पुनर्गठन र वैचारिक नवीकरणका लागि एक अपरिहार्य पहलकदमीको रूपमा लिएका छौं ।

विगतका कमजोरी र विकृति तथा विसंगतिहरूको निर्मम समीक्षाबाट प्राप्त शिक्षा भविष्यका संघर्षका लागि दिशा निर्देशक बन्नेछन । यस कदमले केवल पुराना बैचारिक र संरचनात्मक त्रुटिहरूलाई परिमार्जन गर्ने मात्र होइन, आन्दोलनलाई नयाँ ऊर्जाशील वैचारिक आधार र संगठनात्मक संरचना प्रदान गर्ने महत्त्वपूर्ण अवसर पनि सिर्जना गर्नेछ । क्रान्तिकारी आन्दोलनको सार नै नवीनता, लचिलोपन, र परिस्थितिअनुसार पुनर्निर्माणमा निहित हुन्छ । यो विघटन हारको प्रतीक कदापि होइन । यो बैज्ञानिक समाजवादी क्रान्तिको दीर्घकालीन उद्देश्यप्रति प्रतिबद्धता र आन्दोलनलाई सुदृढ बनाउने मार्गदर्शक कडी बन्नेछ । त्यसैले प्रिय श्रमजिवीवर्ग, देशभक्त जनसमुदाय, र आदरणीय कम्युनिस्ट क्रान्तिकारी पंक्तिमा ऐतिहासिक अभियानमा सहभागी हुन हार्दिक अपिल गर्दछौं ।

लालसलाम सहित ! धन्यवाद ।                       

१३ माघ २०८१ ।

 

 

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology