
काठमाडौं। नेपाल शिक्षक महासंघ केही दिनयता विभिन्न माग राख्दै आन्दोलनमा छ। महासंघले संसद्मा पेस भएको विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्ने दबाब बढाउन आन्दोलित बनेको हो।
महासंघले गत माघ १९ बाट आन्दोलन गरिरहेको छ भने स्थानीय तह, प्रदेश र राष्ट्रियस्तरमै आन्दोलनका कार्यक्रम तय भएका छन्। झन्डै ३ महिना लामो आन्दोलन गर्ने कार्यतालिका बनाएर महासंघ अहिले सडक संघर्षमा छ। तर, महासंघ यसरी आन्दोलित बन्दा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन भने आन्दोलनमा नजाने भएको छ।
संगठनले विज्ञप्ति नै जारी गर्दै महासंघले आन्दोलन गर्न उपयुक्त समय नभएको भन्दै बाहिरै रहने धारणा सार्वजनिक गरेको छ। एमाले निकट शिक्षक संगठन आन्दोलनमा सहभागी नहुनुको कारण आफ्नै सरकारविरुद्ध सडक संघर्ष गर्न डराएको हो कि भन्ने अनुमान गर्न थालिएको छ। अहिले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र एमालेबाट निर्वाचित नेत्रृ विद्या भट्टराई शिक्षामन्त्री छन्।
संगठनको मुल पार्टी एमाले भएकाले आन्दोलन नजान खोजेको हो कि तर्क गर्नेलाई बल पुगिरहेको छ। तर संगठनले भने अन्य विभिन्न कारण देखाउँदै आन्दोलनमा नजान खोजेको प्रष्ट्याएको छ। संगठनका महासचिव हंसबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा सरकारले विद्यालय शिक्षा विधेयकलाई अगाडि बढाइरहेको अवस्थामा तत्काल आन्दोलनमा जानुको कुनै अर्थ नहुने समेत संगठनको ठहर छ।
शाहीले विज्ञप्तिमार्फत आम शिक्षक समुदायको पेसागत हकहित स्थापित गराउन एकीकृत आन्दोलन मार्फत जानुपर्नेमा महासंघ एकलौटी ढंगबाट अघि बढेको आरोप लगाएका छन्। हालै भएको महासंघको अधिवेशन प्रक्रिया समेत संगठनले बहिस्कार गरेको थियो। सोही कुरा विज्ञप्तिमा पनि संगठनले जिल्ला अधिवेशनहरू नियमसंगत नभएको आरोप लगाएको छ।
अहिले नेपाली कांग्रेस निकट शिक्षक संगठनका तर्फबाट लक्ष्मीकिशोर सुवेदी अध्यक्ष बनेका छन् । महासचिवसहितका विभिन्न पदहरू भने उनीहरूका लागि खाली छोडिएको छ । तर, हालसम्म संगठनको तर्फबाट कसैलाई पनि पठाएको छैन ।
सरकारले गत वर्ष विद्यालय शिक्षा विधेयक संसद्मा दर्ता गराएको थियो । आफुहरूसँग कुनै छलफल नै नगरी विधेयक दर्ता गराएको तथा विधेयकमा आफ्ना माग सुनुवाई हुने विषय नराखिएको भन्दै महासंघको नेतृत्वमा २०८० को असोजमा काठमाडौँमा आन्दोलन गरेका थिए । त्यसपछि सरकारले उनीहरूसँग सहमति गरेको थियो ।
त्यसो त, महासंघले माघ १६ र १७ गते काठमाडौँमा आयोजित तेस्रो पूर्ण राष्ट्रिय बैठकपछि आन्दोलनमा जान खोजेको हो।