
काठमाडौँ। मछिन्द्र फुटबल क्लब पोखरामा जारी आहा(रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधबार भएको दोस्रो प्रि-क्वार्टरफाइनलमा विभागीय टोली एपीएफ फुटबल क्लबलाई २-० गोल अन्तरले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा मात्र सम्भव भए। खेलको ७४ मिनेटमा आदित्य शाक्यको गोलमा मछिन्द्रले सुरुवाती अग्रता बनाएको थियो। आदित्य मनिष डाँगीको स्थान लिँदै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए।
आयुष घलानले मिलाएको पासमा आदित्यले डिबक्स भित्रबाट बललाई पोष्टको गति दिए।
खेलको ८२ ओ मिनेटमा स्टेफन कामाहाको गोलमा मछिन्द्रले अग्रता दोब्बर पार्यो। खेलको सुरुवातबाट नै एपीएफमाथि दबाब बनाएको मछिन्द्रले पहिलो हाफमा बनाएको अवसरलाई सदुपयोग गर्न सकेन।
मछिन्द्रले अब क्वार्टरफाइनमा पाँचपटकको विजेता थ्री स्टार क्लबसँग २७ गते खेल्नेछ। प्रतियोगितामा भोलि बिहीबार एनआरटी र चर्च ब्वाइज क्लब भिड्नेछन्। सो खेल दिउँसो २:३० बजे पोखरा रंगशालामा सुरु हुनेछ।