
काठमाडौं। महिला त्रिदेशीय टी २० शृंखलाको अन्तिम खेलमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ। नेपालले सिरिजमा अहिलेसम्म खेलका पाँचै खेलमा हार बेहोरेको छ। नेपाल पहिलो, तेस्रो र पाँचौ खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो र चौथो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।
थाइल्याण्डले सिरिजमा खेलेका ५ मध्ये ४ मा जित र १ मा हरका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । सिरिजमा नेपाल र थाइल्याण्ड तेस्रो पटक आमने सामने हुदैछन् । अघिल्लो दुवै भेटमा थाइल्याण्डले नेपाललाई हराएको थियो ।
नेपाल र थाइल्याण्डबीचको यो खेलले नै उपाधि टुंगो लगाउने हुँदा यो खेल महत्वपूर्ण रहेको छ। नेपालले थाइल्याण्डमाथि फराकिलो जित निकालेमा नेदरल्याण्ड्सले शृंखला जित्नेछ । थाइल्याण्ड सामान्य अन्तरमा पराजित भएमा या नेपाललाई पराजित गरेमा विजेता बन्ने छ ।