
काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आइतबारदेखि काठमाडौँमा हुँदैछ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा यही माघ २७ देखि २९ गतेसम्म हुने महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले मत हाल्नेछन्। महाधिवेशनको तयारी सकिएको पार्टीले जनाएको छ।
महाधिवेशनले ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चुन्नेछ। पहिलो पटक महाधिवेशन हुन लागेको नेसपामा अध्यक्षमा बाबुराम भट्टराई आफै आकांक्षी छन्। उनी यसपटक निर्विरोध नहुने भएका छन्। उनीसँग विद्यार्थी नेता एवं शिक्षा सुधारक नेत्र चापागाईं मैदान उत्रदैछन्। चापागाईं आन्तरिक लोकतन्त्रको जर्गेनाका लागि मैदान उत्रिएको बताउँदै आएका छन्।
महासचिवमा डा। जनक शाह, कृष्ण शर्मा र ईश्वर रिजालले आकांक्षा देखाएका छन्। बाबुराम पुत्री मानुषी सचिवमा उम्मेदवारी दिने तयारीमा छन्। यता बाबुराम पत्नी एवं पूर्वमन्त्री हिसिला यमी भने चुनाव नलड्ने बताउँदै आएकी छन्। एकै घरका व्यक्ति धेरैका आकांक्षी हुँदा आलोचना हुने बुझेर यमी नलड्ने योजनामा रहेको नेताहरू बताउँछन्।