
काठमाडौँ। पन्यु तताएर विद्यार्थीको गालामा डामेको आरोपमा तनहुँ प्रहरीले एक शिक्षिकालाई पक्राउ गरेको छ।
विद्यार्थीको गालामा पन्यु तताएर डामेको आरोपमा भिमाद नगरपालिकाको भिमाद बजारमा रहेको प्रभात एकेडेमी (बोर्डिङ स्कुल) की शिक्षिका ३४ वर्षीया सुष्मा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
कक्षामा होहल्ला गरेको भन्दै उनले बुधबार कक्षा चारमा पढ्ने चारजना विद्यार्थीलाई पन्यु तताएर गालामा डामेको पाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए। पक्राउ परेकी शिक्षिकाले भने आफूलाई विद्यार्थीले काली भनेको आक्रोशमा पन्युले डामेको बताएकी छन्।