
काठमाडौँ। हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ। जसको प्रभावस्वरुप यतिबेला कोसी प्रदेश लगायत देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। देशका बाँकी भूभागको मौसस आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
बुलेटिनमा भनिएको छ, ‘कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको छ। साथै बिहानीपख तराईका केही भूभागमा हुस्सु/कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ।’