
काठमाडौँ। भारतको ओडिसास्थित कलिंगास्थित इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली छात्राको रहस्यमय मृत्यु भएको घटनाप्रति नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले गहिरो दुःख व्यक्त गर्दै विश्वविद्यालय प्रशासनको गैरजिम्मेवारीप्रति गम्भीर आपत्ति जनाएको छ।
इक्यानले मृतक प्रकृति लम्सालले आफूमाथि भएको दुव्र्यवहारका विषयमा विश्वविद्यालयलाई जानकारी दिएको तर गम्भीरताका साथ नलिएका कारण दुःखद घटना घटेको जनाएको छ। घटना घटेपछि कलेजले अन्य विद्यार्थीलाई समेत जर्बजस्ती क्याम्पस छाड्न बाध्य पारेको घटनालाई इक्यानले अन्यायपूर्ण र गैरजिम्मेवारपूर्ण निर्णय भनेको छ। इक्यानले विज्ञप्तिमार्फत अध्ययनका लागि वर्षेनि विदेश जाने विद्यार्थीको सुरक्षामा प्रश्न उठेको बताएको छ।
इक्यानका अध्यक्ष शेषराज भट्टराईको हस्ताक्षरित विज्ञप्तिमा यसबारे नेपाल सरकार र शिक्षासम्बन्धी सरोकार राख्ने शिक्षामन्त्रालयमार्फत माग समेत राखिएको छ। इक्यानले छानबिनको निष्पक्ष छानबिन गर्न कूटनीतिक पहल गर्नुपर्ने, छात्राको परिवारलाई न्याय दिलाउन भारतसमक्ष आधिकारिक वार्ता गर्नुपर्ने, केआईआईटी विश्वविद्यालयका नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति गर्ने र विश्वविद्यालयले विद्यार्थीसँग माफी माग्दै नियमित पठनपाठन सुनिश्चित गर्नुपर्ने माग राखेको छ।
यता कोरियन एजुकेसनल कन्सल्टेन्सी एजुकेसन अफ नेपाल (केक्यान)ले पनि यस घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। केक्यानका अध्यक्ष गणेश शर्माले घटनाको निष्पक्ष छानबिन हुनपर्ने र नेपाली विद्यार्थीको सुरक्षाबोध विश्वविद्यालयले गराउनुपर्ने बताएका छन्।