बिहिबार, चैत्र १३, २०८१
English
Follow us:

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : रंगशालामा नेपालसँग भिड्दैछ लेबनान

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : रंगशालामा नेपालसँग भिड्दैछ लेबनान

  • खबर सेवा

  • बिहिबार, फाल्गुन ८, २०८१

  • 49
    SHARES
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : रंगशालामा नेपालसँग भिड्दैछ लेबनान
नेपाली टिमकी फरवार्ड सावित्रा भण्डारी.

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र लेबनान भिड्दैछन्। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ ६ बजे लेबनन र नेपाल खेल्न लागेका हुन्।

दुवै टिमले जारी लिगको दोस्रो खेल खेल्दैछन्। यसअघि पहिलो खेलमा किर्गिस्तानलाई १-० गोलले पराजित गरेको नेपाललाई लगातार दोस्रो खेलमा जित निकालेर फाइनलमा पुग्ने अवसर छ। एक खेलअघि फाइनल पुग्न दिनको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई हराउनु पर्नेछ।

तुलनात्मक रूपमा कमजोर मानिएको किर्गिस्तानसँग फिनिसिङमा चुकेको नेपाललाई लेवनानविरूद्ध जित निकाल्न भने सहज छैन। अर्कोतर्फ लेवनानले आफ्नो पहिलो खेलमा बलियो मानिएको म्यानमारविरूद्ध उत्कृष्ट खेल देखाएको थियो। यद्यपी खेलमा लेवनान ३-१ गोलले पराजित भएको थियो।

अघिल्लो खेलमा नेपालकी स्टार खेलाडी सावित्रा भण्डारी साम्बाले दोस्रो हाफमा मात्र खेलेकी थिइन्। सोहि दिन आइपुगेकी साम्बाले भोलिको खेलमा पर्याप्त आराम पाएकी छिन्। साम्बाले फ्रान्सबाट सोमबार विहान आइपुगेर साँझ किर्गिस्तानसँग खेलेकी थिइन्। नेपालले लेवनानसँग दोस्रो पटक खेल्न लगेको हो। यसअघि सन् २०२४ को वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र लेवनानले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए।

सो खेलमा नेपालले २-१ गोलले जित निकालेको थियो। खेलमा नेपालले पूजा रानाको आत्मघाती गोलबाट पछि परेको थियो। तर साम्बाले ७६ मिनेटमा बराबरी गोल फर्काएकी थिइन्। साउदी अरेबियामा भएको खेलमा प्रिति राईले इन्जुरी समयको चौथो मिनेटमा गोल गरेपछि नेपालले जित निकालेको थियो।

प्रतियोगिताका सबै खेल फिफा अन्तर्राष्ट्रिय विन्डोजमा हुने भएकाले खेलहरूले अन्तर्राष्ट्रिय मान्यता हुनेछ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology