
काठमाडौँ। ताप्लेजुङको पाथीभरामा बिहीबार भएको झडपपछि यातायात व्यवसायीले बन्दको घोषणा गरेका छन्। ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले विज्ञप्ति जारी गर्दै फागुन ९ गते राति १२ बजेदेखि यातायात बन्द गर्न बताएका हुन्।
उनीहरूले मेची राजमार्ग, तमोर कोरिडोर र धरान-वसन्तपुर-गुफा सडक हुँदै ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सबै नाका तथा जिल्लाका अन्य शाखा सडकमा समेत एम्बुलेन्स, दमकल, दूध र सब्जी बोक्नेबाहेक कुनै पनि सवारीसाधन चल्न नदिने घोषणा गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘फागुन ८ गते काफ्ले पाटीतर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा केबलकार खारेजी पक्षले मे १ ज २५७९ नम्बरको गाडीमा क्षति पुर्याएको तथा चालक राजकुमार पौडेललाई समेत मरणासन्न हुने गरी कुटपिट गरेको घटनाप्रति सवारी चालक मजदुर संघ घोर भर्त्सना गर्दछ।’
ताप्लेजुङमा पाथीभरा क्षेत्रमा केबलकार बनाउने कि नबनाउने भन्ने विवादमा बिहीबार दिउँसो झडप हुँदा १३ जना घाइते भएका छन्।