
काठमाडौं। समाजवादी मोर्चाले प्रतिगमन र प्रतिक्रियावादीको षड्यन्त्रलाई विफल पार्न भन्दै एकजुट हुन ‘जनसमुदाय’सँग अपिल गरेको छ।
शनिबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता खड्गबहादुर विश्वकर्माले मोर्चाले सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्ति एकजुट भई प्रतिगमन र प्रतिक्रियावादीको षड्यन्त्रलाई विफल पार्न जनसमुदायसँग अपिल गर्ने निर्णय गरेको बताएका हुन् ।
मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकासमा देखिएको समस्या, राज्यसत्ताको बागडोर सम्हालेकाको अलोकतान्त्रिक रबैया र गतिविधिका कारण जनतामा निराशा पैदा भएको आरोप लगाएको छ । भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त रहेको उनले बताए । सरकार बिचौलिया, दलालको स्वार्थसिद्धिमा केन्द्रित रहेको उनको आरोप थियो ।
अध्यादेशमार्फत सरकार चलाउने, सदनलाई छल्ने र संसद्मा दर्ता महत्त्वपूर्ण विधेयक नियन्त्रण गरी राख्नेमा सरकार उद्दत रहेको उनले बताए ।