
काठमाडौँ। विभिन्न माग राख्दै आन्दोलनरत चिकित्सकहरूसँग स्वास्थ्य मन्त्रीले सहमति गरेका छन्। नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकसँगको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले माग पूरा गर्ने आश्वासन दिएपछि ३ बुँदे सहमति भएको छ।
सहमतिपत्रमा स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरूका लागि यथाशीघ्र सुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरूमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्न सक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन वटा सम्झौता भएसँगै आवासीय चिकित्सकहरू आन्दोलन छोड्न सहमत भएका हुन्।
मन्त्री पौडेलले आवासीय चिकित्सकहरूका मागहरू पूरा गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको र त्यसको कार्यान्वयन गर्ने सहमति भएको बताए। चिकित्सकहरू निर्वाह भत्ता आठौँ तह सरह हुनुपर्ने, आवासीय चिकित्सकहरूको सुत्केरी बिदा, बिरामी बिदा, ड्युटी आवरको कुरा पनि उठाएका थिए।