शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

अविरल वर्षाका विभिन्न राजमार्गमा अलपत्र यात्रुको व्यवस्थापन गर्न प्राधिकरणको आग्रह

अविरल वर्षाका विभिन्न राजमार्गमा अलपत्र यात्रुको व्यवस्थापन गर्न प्राधिकरणको आग्रह

  • खबर सेवा

  • शनिबार, अशोज १८, २०८२

  • 141
    SHARES
अविरल वर्षाका विभिन्न राजमार्गमा अलपत्र यात्रुको व्यवस्थापन गर्न प्राधिकरणको आग्रह
चितवनको इच्छाकामना गाउँपालिकास्थित पानीधाराको पहिरो हटाउँदै डोजर । पहिरोले दुबैतर्फी बन्द भएको सडक शनिबार दिउँसो २ः३० बाट खुलाउँदै । पहिरो खुलाएर सडकमा रोकिएका सवारी पास गराइए पनि पृथ्वी राजमार्गमा यात्रा गर्न भने सहज छैन । तस्बिरः शंकर श्रेष्ठ/रासस

काठमाडौ‌। अविरल वर्षाका कारण काठमाडौँ उपत्यका भित्रने र बाहिरिने विभिन्न राजमार्गमा सवारीसाधन रोकिएका छन् । चन्द्रागिरि नगरपालिकाबाट विभिन्न नाका हुँदै काठमाडौँबाट धादिङ र मकवानपुर भएर बाहिरिने सडकखण्डमा अर्को आदेश नभएसम्मका लागि दुवैतर्फका सवारीसाधन होल्ड गरिएको नेपाल प्रहरीले जनाएको छ ।

पहिरोले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ घट्टेखोला, बालुवाखानी र तातोपानीस्थित पासाङल्हामु सडकखण्ड पनि अवरुद्ध भएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित वरुणखोलाको बाढीले ह्युमपाइप बगाउँदा सदरमुकाम खाँदबारीबाट थुमसुर जाने कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

पहिरोको जोखिम बढेपछि बिपी राजमार्गमा यही असोज २१ गतेसम्म साँझ ५:०० देखि बिहान ५:०० बजेसम सवारी सञ्चालनमा रोक लगाइएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ चारकिलोस्थित अरनिको राजमार्गको केही भाग भासिएकाले भाअिन्दाजी सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

हाम्रा समाचारदाताका अनुसार ओलखढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सीमास्थित भँडारे खोलाको बाढीले सदरमुकाम जोड्ने सडकमा क्षति भएको छ ।

रोकिएका यात्रुको व्यवस्थापन गर्न आग्रह

यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राजमार्गमा रोकिएका यात्रुलाई सुरक्षित स्थानमा राख्दै खानपान र स्वास्थ्योपचारलगायत आवश्यक बन्दोवस्त गर्न आग्रह गरेको छ ।

प्राधिकरणले आज सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अलपत्र यात्रुलाई सम्बन्धित स्थानीय तह, यातायात व्यवसायी एवं सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको समन्वयमा आवश्यक सहयोग गर्न आग्रह गरेको हो ।

सरकारले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा भइरहेको र त्यसबाट उत्पन्न हुनसक्ने बाढी, पहिरो र डुबानजन्य विपद्लाई दृष्टिगत गरी सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारीसाधनको आवतजावतमा आजदेखि असोज २० गतेसम्म रोक लगाएको छ ।

यसरी रोक लगाइएको सूचना जारी हुनुअघि नै गन्तव्यतर्फ प्रस्थान गरेका केही यात्रुहरु राजमार्गमै रोकिएको जानकारी प्राप्त भएपछि यस्तो आग्रह गरिएको प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी दिनुभयो ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology