शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

ट्रम्पको ‘कागजी बाघ’ टिप्पणीले माओको अमेरिकी विरोधी प्रचारको प्रतिध्वनि गर्‍यो

ट्रम्पको ‘कागजी बाघ’ टिप्पणीले माओको अमेरिकी विरोधी प्रचारको प्रतिध्वनि गर्‍यो

  • खबर सेवा

  • आइतवार, अशोज १९, २०८२

  • 108
    SHARES
ट्रम्पको ‘कागजी बाघ’ टिप्पणीले माओको अमेरिकी विरोधी प्रचारको प्रतिध्वनि गर्‍यो

वासिङटन। करिब ८० वर्षअघि चीनका नेता माओत्सेतुङले मनोबल बढाउन अमेरिकालाई ‘कागजी बाघ’ (पेपर टाइगर) भन्नुभएको थियो । अहिले, त्यही शब्दलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गर्दै रूसमाथि व्यङ्ग्य गरेपछि अन्तर्राष्ट्रिय राजनीतिक बहस चर्किएको छ ।

सेप्टेम्बर २३ मा ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले रूसलाई ‘कागजी बाघ’ भन्दै त्यसको सैन्य क्षमतालाई व्यङ्ग्य गर्नुभयो । यस टिप्पणीले क्रेमलिनलाई आक्रोशित बनायो । यद्यपि ट्रम्प केही समय चुप लाग्नुभयो, मङ्गलबार अमेरिकी सेना अधिकारीहरूलाई सम्बोधन गर्दा उहाँले पुनः प्रश्न उठाउनुभयो, “तपाईं चार वर्षदेखि लडिरहनुभएको युद्ध एक हप्तामै सकिनुपर्ने हो — के तपाईं कागजी बाघ हुनुहुन्छ ?”

बिहीबार, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जवाफ फर्काउँदै भन्नुभयो, “हामी नाटोको सम्पूर्ण शक्ति विरुद्ध लडिरहेका छौँ र अघि बढिरहेका छौँ । हामी आत्मविश्वासी छौँ । यदि हामी कागजी बाघ हौँ भने, जानुस् र त्यसैसँग व्यवहार गर्नुहोस् ।”

यो शब्दको प्रयोगले चिनियाँ क्रान्तिकारी इतिहासको चिरपरिचित नारालाई पुनः चर्चामा ल्याएको छ । एसिया सोसाइटीका वरिष्ठ विश्लेषक जोन डेलुरी भन्नुहुन्छ, “एक चिनियाँ इतिहासकारका रूपमा ट्रम्पले माओको मनपर्ने अभिव्यक्ति उधारो लिएर रूसमाथि प्रहार गर्दा मलाई हाँसो लाग्यो ।”

माओले सन् १९४६ मा अमेरिकी पत्रकार अन्ना लुइस स्ट्रङलाई दिएको अन्तर्वार्तामा अमेरिकी एटम बमलाई ‘कागजी बाघ’ भन्नुभएको थियो । उहाँका अनुसार, अमेरिकाले शक्तिको ढोङ गर्छ तर वास्तवमा त्यो कमजोर छ । चीनमा यो वाक्यांश झिलाओहु भन्ने शब्दबाट आएको हो, जसको अर्थ हो — ‘कागजको बाघ’ ।

चिनियाँ प्रचार साहित्यमा यो शब्दले साम्राज्यवादी पश्चिम, विशेषतः अमेरिकालाई जनाउँथ्यो । माओले बारम्बार भन्नुभएको थियो, “सबै प्रतिक्रियावादीहरू कागजी बाघ हुन् ।” पार्टीका सिद्धान्तकारहरूका अनुसार यो ‘रणनीतिक सोच’ र ‘प्रचारको तीक्ष्ण हतियार’ थियो ।

सन् १९७० को दशकमा अमेरिका–चीन सम्बन्ध सुधार भएपछि यो प्रचारित नारा कम प्रयोगमा आयो । तर पछिल्लो समय द्विपक्षीय सम्बन्ध फेरि चिसिएसँगै यसको प्रयोग दोहोरिन थालेको छ ।

हालै, चीनको विदेश मन्त्रालयले पनि यही वाक्यांश प्रयोग गर्दै अमेरिकाको नीतिको आलोचना ग¥यो । “अमेरिका एउटा कागजी बाघ मात्रै हो, यसको ढोङमा नपर्नुहोस्”, प्रवक्ताले भनेका थिए ।

ट्रम्पले रूसमाथि टिप्पणी गर्दा यो पुरानो चिनियाँ प्रचार वाक्यांश फेरि चर्चामा आयो । वासिङ्टन पोस्टका स्तम्भकार युजिन रोबिन्सनले फेब्रुअरीमा ट्रम्पको विदेश नीतिलाई ‘कागजी बाघ’ भन्नुभएको थियो । हार्वर्ड प्राध्यापक लरेन्स ट्राइबले मे महिनामा ट्रम्पको आप्रवासन नीतिको आलोचना गर्दै पनि यही शब्द प्रयोग गर्नुभएको थियो ।

राजनीतिक विश्लेषकहरूका अनुसार अहिले अमेरिका र रूसले एकअर्कालाई ‘कागजी बाघ’ भनिरहेको बेला शक्ति सन्तुलनको नयाँ यथार्थ झल्किने सङ्केतसहित चिनियाँ राष्ट्रपति सी जिनपिङ भने चुपचाप हेरेर बस्नुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology