झापा। झापामा आएको बाढीले जिल्लाका ४५० घर डुबानमा परेको छ। असोज १८ गतेदेखिको अविरल वर्षाका कारण विभिन्न नदी–खोलामा आएको बाढी बस्तीमा पस्दा जनधनको ठूलो जोखिम देखिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो, “नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य जारी छ। हालसम्म करिब १०० घरका मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको छ।”
मेचीनगर नगरपालिका–६ स्थित कालीखोलामाथिबाट पानी बढ्दा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध भएको छ भने शिवसताक्षी नगरपालिका–१० स्थित सुकुना खोलाको बाढीले ह्युमपाइप बगाएर आवागमन अवरुद्ध भएको छ।
झापा गाउँपालिका–२ सुगाबथानमा ५६ घरधुरीका १४० जनालाई उद्धार गरी स्थानीय विद्यालयमा स्थानान्तरण गरिएको छ। त्यस्तै, शिवसताक्षी–४, ५, ६ र ७ मा माई खोलाको बाढीले ३५० घर प्रभावित भएका छन् र उद्धार कार्य जारी छ।
भद्रपुर नगरपालिका–५ का करिब २५ घर बाढीमा परेपछि बस्तीका मानिसहरू आफन्तकामा बसिरहेका छन्। मेचीनगर–१५ स्थित सतिघट्टा र ज्यामिरगढीकोबीचमा पर्ने बस्ती डुबानमा परेको हुँदा करिब २५ घर जोखिममा छन्। बाढीपीडितको उद्धार र स्थानान्तरण जारी रहेको प्रवक्ता खड्काले जानकारी दिनुभयो।