शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

बाढी पहिरोमा दुई दिनमा कम्तिमा ४७ जनाको मृत्यु, सरकारी संयन्त्रबीच समन्वय हुँदा तुलनात्मक रुपमा कम क्षति

बाढी पहिरोमा दुई दिनमा कम्तिमा ४७ जनाको मृत्यु, सरकारी संयन्त्रबीच समन्वय हुँदा तुलनात्मक रुपमा कम क्षति

  • खबर सेवा

  • सोमवार, अशोज २०, २०८२

  • 143
    SHARES
बाढी पहिरोमा दुई दिनमा कम्तिमा ४७ जनाको मृत्यु, सरकारी संयन्त्रबीच समन्वय हुँदा तुलनात्मक रुपमा कम क्षति

काठमाडौं– मौसमजन्य भारी वर्षाले निम्त्याएको बाढी र पहिरो परि दुईदिनमा देशभर कम्तिमा ४७ जनाको मृत्यु भएको छ। विपत् मा परी इलाममा मात्रै ३७ जनाको ज्यान गयो भने पाँचथर, रौतहट, उदयपुर, खोटाङ र काभ्रेमा गरी ४७ जनाले ज्यान गुमाएका छन्।

बाढीपहिरोका कारण पाँच हजारभन्दा बढी परिवार विस्थापित भएका छन्। कोशी, मधेश र बागमती प्रदेशका दर्जनौं सडकमा क्षति पुग्दा दसैं मनाउन हिँडेका यात्रुको आवतजावत प्रभावित भएको छ।

जल तथा मौसम विज्ञान विभागले १५ असोजमै १७ देखि २० असोजसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय रहने पूर्वानुमान गरेको थियो । बंगालको खाडीमा विकसित न्यूनचापीय मौसम प्रणाली भारतको ओडिसाबाट प्रवेश गरी मध्य भारततर्फ सर्ने र त्यसको प्रभाव नेपालमा पर्ने भनिएको थियो । त्यसको प्रभाव नारायणी, बागमती, कमला र कोशी नदीमा पर्ने विभागको अनुमान थियो ।

अविरल वर्षाका कारण आएको बाढीले धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर र बटेश्वर गाउँपालिकाको शान्तिपुरलाई जोड्ने औरही नदीको पुलको पूर्वतर्फको सडक बगाएपछि आवतजावत पूर्णरूपमा अवरुद्ध भएको छ।तस्बिर : अमरेन्द्रकुमार यादव/रासस

विभागले जारी गरेको सूचनामा बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ र मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भएर बग्ने ससाना नदीमा आकस्मिक बहावको सम्भावना उच्च रहेको भनिएको थियो । ‘मुख्यतः १८ देखि २० असोजसम्म विशेष सतर्कता अपनाउनु हुन अनुरोध छ,’ विभागले सूचनामा भनेको थियो ।

नदीमा पानीको बहाव बढ्ने पूर्वानुमानपछि गृह मन्त्रालयले समेत सम्भावित क्षति न्यूनीकरण र उद्धारको तयारी बढाएको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालले १७ असोजमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद् व्यवस्थापन युनिटहरूमा पुगेर तयारीबारे सूचना लिएका थिए । उनले सम्भावित क्षति न्यूनीकरण र उद्धारमा कुनै कसर बाँकी नराखी उच्च मनोबलका साथ काम गर्न निर्देशनसमेत दिएका थिए ।

लामो तथा छोटो दूरीका सवारीसाधनसमेत दुई दिन बन्द गर्ने निर्णय मन्त्रालयले गरेको थियो । विपद्को पूर्वसन्ध्यामा मन्त्रालयले चालेको कदमको प्रशंसा भइरहेको छ । तर इलाममा यसपालि अनपेक्षित क्षति भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार इलामको माईपोखरी स्टेसनमा २४ घण्टामा २६९.४, इलाम चिया बगानमा भएको स्टेसनमा २७२.६ र कन्याममा २७५ मिलिमिटर वर्षा भएको थियो । सामान्यतयाः २४ घण्टामा १४४ मिलिमिटरभन्दा बढी वर्षा भए पहिरोका लागि जोखिमयुक्त मानिन्छ ।

विगतमा जोखिम आकलन गरेर यातायात रोक्न दिइएको सल्लाह/निर्देशन सरकारी निकायहरूले नै नमान्दा ठूलो क्षति भएको थियो। । यो वर्ष सरकारी सयन्त्रबीच राम्रो समन्वय हुँदा कम क्षति भएको सरकार र सम्बन्धित निकायहरुले दाबी गरेका छन्।

सुरक्षा निकाय र स्वयंसेवक परिचालन

नेपाल प्रहरीले देशभर २०,४८५ जनाको जनशक्ति विपद् प्रतिकार्यका लागि परिचालन गरेको छ। सातै प्रदेशका प्रदेश प्रहरी गुल्महरूमा १२५ जनाको दरले स्ट्याण्डबाइ रहेको छ। काठमाडौंमा मात्रै शनिबार १३० जना प्रहरी १५–१५ जनाको टोलीमा र्‍याफ्टिङ बोटसहित उद्धारमा केन्द्रित थिए।

नेपाली सेनाले ७७ जिल्लाका ९४ गण र ५८ गुल्ममा आधारभूत उद्धार सामग्रीसहित २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मी तैनाथ गरेको छ। सुर्खेत र इटहरीमा हवाई उद्धारका लागि हेलिकप्टर तयारीमा राखिएको छ। सेनाले डुबान क्षेत्रमा बस्ती स्थानान्तरणको काम पनि संयुक्त प्रयासमा सञ्चालन गरेको छ।

सशस्त्र प्रहरी बल, नेपालले सात हजार ६ सय १५ जनालाई तयारी अवस्थामा राखेको छ। यसमा १ सय ३५ गोताखोर र ३ हजार ९ सय विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति रहेका छन्। देशका विभिन्न स्थानमा ३३ मोटरबोट र ९६ ¥याफ्टिङ बोट गरी १२९ वटा बोट विपद् क्षेत्रमा परिचालन गरिएको छ। साथै १ लाख ६८ हजार ६ सय ९५ विपद् सूचक र ९ सय ९० तालिम प्राप्त स्वयंसेवकहरूसँग समन्वय गरी उद्धार कार्य भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले पूर्वसूचना, समन्वय र एकद्वार प्रणालीबाट कार्य गर्दा विगतको तुलनामा जनधनको क्षति कम भएको बताए। उनले बताए अनुसार १८, १९ र २० असोजमा अत्याधिक वर्षाको पूर्वानुमान समयमै सार्वजनिक गरिएको थियो, जसले विपद् प्रतिकार्यमा सफलता दिलाएको छ।

समयमा समन्वय हुँदा गत वर्षभन्दा कम क्षति


पोहोर साल असोज १० देखि १२ गतेको भारी वर्षामा देशभर ठूलो जनधनको क्षति भएको थियो। मौसम विभागले समयमै चेतावनी जारी गर्‍यो, रातो अक्षरमा बढी जोखिम हुने दिनको जानकारी दियो, र लामो दूरीका तथा रात्रीकालिन यातायात नचलाउन आग्रह गर्‍यो। तर, तत्कालिन सरकारले समयमा समन्वय नगर्दा ठूलो क्षति भएको थियो।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा हुनुहुन्थ्यो, गृह मन्त्री रामेश लेखक काठमाडौं उपत्यकामा नागरिकका गुहार सुन्न सीमित रहनुहुन्थ्यो। सार्वजनिक रूपमा ओलीले “मैले पानी पार्दिएको हो? मैले पहिरो झार्दिएको हो?” जस्ता टिप्पणी गरेपछि आलोचित हुनुपरेको थियो।

यो वर्ष सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले, बिपत् व्यवस्थापन प्राधिकरण, मौसम पूर्वानुमान महाशाखा र सुरक्षा निकायबीच राम्रो समन्वय हुँदा मन्त्रीहरू आफैं फिल्डमा खटिएका थिए। मन्त्रालयबाट तयारी र चेतावनीहरू नियमित रूपमा जारी भयो। हेलिकप्टर तयारी, उद्धार, राहत र चौबीसै घण्टा अलर्ट प्रणाली सक्रिय राख्यो।

लामो दूरीका यातायात रोकिएका रोकेर जोखिमयुक्त बाटोमा यात्रा बन्द गरिएको थियो। त्यस्तै जिल्ला प्रशासनका कार्यालय प्रमुखहरू चौबीसै घण्टा कार्यालयमै बसेर काम गरे।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology