चितवन। काठमाडौं फर्कने यात्रुसँग अधिक भाडा असुलिएको गुनासोपछि स्थानीय प्रशासनले अनुगमन गरी कारबाही गरेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा भएको अनुगमनमा नारायणगढ पुलचोक, पोखरा बसपार्क र आँपटारीमा सडकमा जाँच गरिएको थियो। सो क्रममा बढी भाडा लिने ६ जना नियन्त्रणमा लिइएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गायत्री शर्माका अनुसार, यात्रुलाई बढी भाडाको टिकट दिएर कम रकम उल्लेख गरेर ठगी गर्ने सवारी चालक र धनीलाई कारबाही गरिएको छ। सो क्रममा २५ माइक्रोबसले उठाएको बढी भाडा फिर्ता गराइएको छ।
प्रमुख जिल्ला अधिकारी अर्यालले भने, “चलानीबिना सवारी चलाउने र बढी भाडा लिनेलाई सचेत गराइएको, जरिवाना लगाइएको र आवश्यक परेमा कालोबजारी ऐनअन्तर्गत कारबाही अघि बढाइएको छ।”
यातायात अनुगमन विशेष गरी दसैँको चाप बढेसँगै नियमित रूपमा सञ्चालन भइरहेको प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो।