काठमाडौं। जेनजी आन्दोलनका क्रममा आगजनी भएको स्थानमा समयमै नपुगेको विषयमा वडाध्यक्षहरूले प्रश्न उठाएका छन्।
काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा बोल्दै वडा ७ का बिमल कुमार होडा र वडा २० का राजेन्द्र मानन्धरले बैठकमा आपत्ति जनाउँदै, घटनाबारे समीक्षा र खेद प्रस्ताव पेश गर्नुपर्ने बताए। वडाध्यक्षहरूले सिंहदरबार जलेर खरानी हुनु र अन्य सम्पदामा क्षति भएको घटनालाई लिएर महानगरको तत्परता र योजना कमजोर भएको उल्लेख गरे।
महानगर प्रहरी एसपी र विपद व्यवस्थापन समितिका संयोजक बिष्णु प्रसाद जोशीले जवाफ दिँदै भने, २३ गते बिहान शान्तिनगर, पोल र सुन्धारामा आगलागी नियन्त्रणमा महानगरकै दमकलले प्रयास गरेको थियो। सिंहदरबार आगो निभाउन दमकल बसन्तपुर र चाबहिलबाट मुभ गर्न ढुंगामुढा र अवरोध आएपछि आर्मीको सहयोग लिनुपरेको थियो। ८ बजेर १५ मिनेटमा सिंहदरबारमा दमकल पुगेको र आगो निभाउन लगातार प्रयास गरिएको उनले बताए।
जोशीले हिल्टन होटल बाहेक अन्य स्थानमा महानगरकै दमकलले आगो नियन्त्रण गरेको र ललितपुरबाट थप दमकल बोलाइएको जानकारी पनि दिएका छन्। उनले ५ वटा दमकल सक्रियरूपमा परिचालन गरिएको र अवरोधका कारण केही ढिलाइ भएको स्पष्ट पारे। वडाध्यक्षहरूले अब भविष्यमा विपद् व्यवस्थापनमा सुधार र तत्परता सुनिश्चित गर्न सुझाव दिएका छन्।
४३ औं नगर कार्यपालिका बैठक (लाइभ)
https://www.facebook.com/kathmandumetropolitan/videos/3231424253678583