मङ्लबार, मंसिर २३, २०८२
English
Follow us:

यी स्थानमा आज पनि हुन्छ वर्षा

यी स्थानमा आज पनि हुन्छ वर्षा

  • खबर सेवा

  • शुक्रबार, कार्तिक १४, २०८२

  • 133
    SHARES
यी स्थानमा आज पनि हुन्छ वर्षा

काठमाडौँ। बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ अहिले भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रको रूपमा सक्रिय रहेको छ।

त्यस प्रणालीको प्रभावका कारण नेपालमा शुक्रबार साँझसम्म मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाले शुक्रबार साँझपछि क्रमिक रूपमा मौसममा सुधार आउने जनाएको छ।

मोन्था चक्रवातसँगै हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव नेपालमा परेको छ। यसका कारण देशका विभिन्न भागमा बादल लाग्ने, वर्षा र हिमपात हुने अवस्था बनेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा पनि साधारणदेखि पूर्ण बदलीको अवस्था रहनेछ। ती प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

त्यस्तै, कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा मध्यम हिमपात हुने र ती प्रदेशका एक-दुई स्थानमा भारी हिमपात हुने सम्भावना पनि रहेको छ। बाँकी उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा पनि हल्का हिमपात हुन सक्ने विभागले जनाएको छ।

पछिल्लो १२ घण्टाको अवधिमा मोरङको सुन्दरहरैँचामा सबैभन्दा धेरै वर्षा भएको छ। यहाँ १४०.६ मिलिमिटर वर्षा मापन गरिएको छ। सप्तरीको बरमझियामा १०५.६ मिलिमिटर, उदयपुरगढीमा ८३.२, गाईघाटमा ७४, मुर्कुची बजारमा ७३.६, चुरेमाईमा ७२.४ र लाहानमा ७१.६ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology