काठमाडौँ । आईसीसी महिला एक दिवसीय विश्वकप १३ औं संस्करणको उपाधिका लागि आइतबार आयोजक राष्ट्र भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुँदैछ । खेल दिउँसो ३:१५ बजे मुम्बईमा शुरू हुनेछ । भारत र दक्षिण अफ्रिका दुबैले हालसम्म महिला एक दिवसीय विश्वकपको उपाधि जित्न सकेका छैनन् । जारी विश्वकपका यी दुबै टोली लयमा छन् । तर, भारतभन्दा दक्षिण अफ्रिकाको प्रदर्शन केही अब्बल देखिएको छ । जारी विश्वकपको समूहगत चरणमा पनि यी दुई टोलीबीच भिडन्त भइसकेको छ । त्यो खेलमा दक्षिण अफ्रिकाले भारतलाई तीन विकेटले हराएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले ४९।५ ओभरमा अलआउट हुनुअघि दुई सय ५१ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकाले ४८।५ ओभरमा सात विकेट गुमाएर विजयी लक्ष्य पूरा गरेको थियो । समूहगत चरणको खेलपछि दक्षिण अफ्रिका अंक तालिकाको तेस्रो र भारत चौथो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
समूहगत चरणमा दक्षिण अफ्रिकाले सातमध्ये पाँच खेलमा जीत र दुई खेलमा हारको नतिजाबाट १० अंक बटुलेको थियो । अर्कोतिर, भारतले सातमध्ये तीन खेलमा जीत र तीन खेलमा हारको नतिजा निकालेको थियो । सात अंक बटुलेको भारतको एक खेल भने अनिर्णित रूपमा सकिएको थियो ।
यसैगरी, प्रतियोगिताको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई एक सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । इङ्ल्यान्ड चारपटकको विश्वकप विजेता हो । इङ्ल्यान्डले सन् १९७३, सन् १९९३, सन् २००९ र सन् २०१७ मा उपाधि जितेको थियो । सेमिफाइनलमा चारपटकको विश्वकप विजेता इङ्ल्यान्डलाई हराएपछि दक्षिण अफ्रिकाको मनोबल पनि उच्च बनेको छ । भारतले भने दोस्रो सेमिफाइनलमा साविक विजेता अस्ट्रेलियामाथि पाँच विकेटको कीर्तिमानी जीत हासिल गरेको थियो ।
महिला एक दिवसीय विश्वकपको छैटौं संस्करण भारतमा आयोजना भएको थियो । महिला विश्वकपमा दक्षिण अफ्रिकाको यो पहिलो सहभागिता थियो । सोही संस्करणको क्वार्टरफाइनलमा भारत र दक्षिण अफ्रिका पहिलोपटक आपसमा भिडेका थिए । त्यो खेलमा भारतले दक्षिण अफ्रिकालाई पाँच विकेटले हराएको थियो ।
यसैगरी, सन् २००० मा आयोजित विश्वकपमा भारत र दक्षिण अफ्रिका दोस्रोपटक आपसमा भिडेका थिए । समूहगत चरणको उक्त खेलमा भारतले दक्षिण अफ्रिकालाई आठ विकेटले पराजित गरेको थियो । यसैगरी, २००५ को विश्वकपको समूहगत चरणमा पनि यी दुई टोलीबीच आपसमा भिडन्त भएको थियो । त्यो खेलमा पनि भारतले दक्षिण अफ्रिकालाई चार विकेटले हराएको थियो ।
सन् २००९ र सन् २०१३ को विश्वकपमा भने यी दुई टोलीबीच आपसमा भिडन्त भएन । सन् २०१७ मा आयोजित विश्वकपको समूहगत चरणमा भने दक्षिण अफ्रिकाले भारतलाई एक सय १५ रनको विशाल अन्तरले हराएको थियो । महिला एक दिवसीय विश्वकपको इतिहासमा भारतमाथि दक्षिण अफ्रिकाको त्यो पहिलो जीत थियो ।
यसैगरी, सन् २०२२ मा आयोजित विश्वकपको समूहगत चरणमा पनि यी दुई टोली आपसमा भिडेका थिए । त्यो खेलमा पनि दक्षिण अफ्रिकाले भारतलाई तीन विकेटले हराएको थियो । त्यसपछि सन् २०२५ को विश्वकपको समूहगत चरणमा दक्षिण अफ्रिकाले भारतलाई तीन विकेटले हराएको छ ।
महिला एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिका र भारतबीच हालसम्म कुल ३४ खेल खेलिएको छ । त्यसमा दक्षिण अफ्रिकाभन्दा भारत बलियो देखिन्छ ।
भारतीय महिला टोली २० खेलमा दक्षिण अफ्रिकी महिला टोलीलाई हराएको छ । १३ खेलमा भने दक्षिण अफ्रिकाले भारतलाई पराजित गरेको छ । एक खेल भने अनिर्णित रूपमा सकिएको छ ।