स्याङ्जा। स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदीधाम राम्दीस्थित कालीगण्डकी नदीमा एक किशोर सातादेखि बेपत्ता छन्। स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा गत बुधबार पौडी खेल्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका–१ घर भएका १५ वर्षीय बखत शाही नदीमा बेपत्ता भएका थिए।
शाहीसँगै पोखरा भ्रमणमा आएका १६ वर्षीय बिराज न्यौपाने पनि नदीमा पसेका थिए। पौडी खेल्ने क्रममा दुवै जना बगिरहेका थिए, तर न्यौपानेलाई सकुशल उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीका अनुसार, शाहीको खोजी सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन समूह, नेपाल प्रहरी र आफन्तजनको सक्रियतामा तीव्र रूपमा जारी छ।
सशस्त्र प्रहरी बलको तालिम प्राप्त टोलीले ‘राफ्टिङ बोट’को सहायताले घटनास्थल र त्यसभन्दा तलका स्थानमा खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ।