काठमाडौँ । राष्ट्रियता, लोकतन्त्र र जनताका हक अधिकार खतरामा परेको नेताहरूले बताएका छन् । शुक्रबार नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव,नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो बताउनुभएको छ।
‘राष्ट्रिय जीवन असुरक्षित हुँदै गएको छ । मुलुकका पुराना राजनीतिक दलहरू, खासगरी तिनका नेताहरू पुरानै संरचना र तरिका जोडजाड गरेर सङ्कटलाई ढाकछोप गर्न र आफ्नो वर्चश्व बचाउन चाहन्छन् । त्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र सङ्कटतर्फ धकेल्ने कुरा निश्चित छ । पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतः स्पष्ट छ,’जारी संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।
आजको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु आजको ज्वलन्त कार्यभार बनेको उहाँहरुले बताउनुभएको छ।
राष्ट्रमाथि चौतर्फी सङ्कट आएको यस परिस्थितिमा सबै प्रतिबद्ध कम्युनिष्टहरु, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूले बृहत् मोर्चावन्दीको लागि पहलकदमी लिनु आवश्यक भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ,’हामी त्यस्तो ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध भएर अगाडि बढ्न सङ्कल्पबद्ध भएका छौँ । र, सबै प्रतिबद्ध कम्युनिष्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूसँग सार्थक संवाद, छलफल र सहकार्यको लागि आह्वान गर्दछौँ ।’