काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १७ दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएर प्रतिनिधिसभा निर्वाचन तोकिएपछि मात्रै १७ वटा दलले दर्ताका लागि निवेदन दर्ता गराएको निर्वाचन आयागले जनाएको छ ।
यसैबिच शुक्रबारमात्रै ५ वटा दलले दर्ताका लागि आयोगमा निवेदन दिएका छन् । जसमा सविन सिग्देलले राष्ट्र निर्माण पार्टी, रत्नप्रसाद श्रेष्ठले नागरिक सर्वोच्चता पार्टी नेपाल, योगेन्द्र मण्डलले राष्ट्रिय उर्जाशील पार्टी नेपाल, चन्द्रप्रकाश सुवेदीले सुन्दर नेपाल निर्माण पार्टी र रियाज अहमद शेषले राष्ट्रिय स्वराज पार्टी दर्ताका लागि आयोगमा निवेदन पेश गराएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभएको छ।
आयोगका अनुसार बुधबार जातीय विभेद विरुद्धका अभियन्ता एवं मन्त्रीमा प्रस्तावित खगेन्द्र सुनारले हाम्रो पार्टी नेपाल दर्ताका लागि निवेदन दर्ता गराउनुभएको छ। उहाँले गोलो घेराभित्र राम्रो जनाउने लाइक निर्वाचन चिन्ह प्रस्ताव गर्नुभयो।
यसअघि हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टी र जनमत पार्टी फुटेर गठन भएको जनस्वराज पार्टी दर्ता भइसकेका छन् ।