काठमाडौं। कर्णाली यशविस लगातार दोस्रो पटक एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) च्याम्पियन बन्न सफल भएको छ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक फाइनलमा ललितपुर क्विन्सलाई ३-२ ले हराउँदै कर्णाली उपाधि रक्षा गर्न सफल भएको हो। ललितपुर भने लगातार दोस्रो पटक फाइनलमा पराजित हुन पुग्यो।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनलमा पहिलो सेट निकै रोमाञ्चक बन्यो। सुरुवात कर्णालीले राम्रो गर्यो। पहिलो अंक ललितपुरले आफ्नो पक्षमा पार्यो। यसपछि नेबिका चौधरीको सर्भिसमा कर्णालीले लगातार सात अंक जोड्यो। कर्णालीले ७-१ को अग्रता बनायो। तर यसपछि ललितपुरले खेललाई १३-१३ को बराबरीमा मात्र ल्याएन्। ललितपुरले २२-१८ को अग्रतामा पहिलो सेटको नजिक पुग्यो। तर ललितपुर फिनिसिङमा नराम्रोसँग चुक्यो। २६-२४ ले सानदार शैलीमा पहिलो सेट जित्यो।
दोस्रो सेटमा ललितपुरलाई निरिह बनाउँदै कर्णालीले एकपक्षीय दबाब बनायो। जोशना महतोको सर्भिसमा कर्णालीले लगातार पहिलो ५ अंक जोड्यप। ललितपुरले ६-६ को बराबरी सम्म पुर्यायो। तर यसपछि ललितपुरले निराशाजनक प्रदर्शन गर्यो। सहजै २५-१७ ले दोस्रो सेट जितेर खेलमा २-० को स्पष्ट अग्रता बनायो।
दुई शुन्यले पछि परेको ललितपुरलाई उपाधि जित्ने संभावनालाई कायमै राख्न तेस्रो सेट जित्नुको विकल्प थिएन्। जहाँ ललितपुरले यो सेटमा भने लय समात्यो। १८-१३ को अग्रता बनाएपछि लगातार ७ अंक जोड्दै यो सेट २५-१३ ले सहजै आफ्नो पक्षमा पार्न सफल रहयो। खेललाई २-१ मा पुर्याउँदै ललितपुरले खेलमा फर्कने संकेत देखायो।
यसपछि चौथो सेट प्रतिस्पर्धात्मक बन्यो। जहाँ ललितपुरले १२-७ को अग्रता बनाइसकेको थियो। तर कर्णाली खेलमा फर्कने प्रयासमा थियो। ५ अंकको अग्रता गुमाउँदा ललितपुर १७-१५ को स्थितिमा पुग्दा खरल रोमाञ्चक बनेको थियो। यसपछि भने कर्णालीलाई १७ अंकमा रोक्न ललितपुर सफल रहयो। २५-१७ ले चौथो सेट जित्दै खेललाई २-२ को रोमाञ्चक मोडमा पुर्याउन सफल रहयो।
पाँचौ तथा निर्णायक सेटमा ललितपुरले पहिलो अंक जोड्यो। यसपछि नेभिकाको सर्भिसमा कर्णालीले लगातार ८ अंक जोड्यो। कर्णाली उपाधितर्फ अगाडि बढ्यो। पहिलो दुई सेट गुमाएर खेलमा फर्केको ललितपुर निर्णायक सेटमा निरिह बन्यो। १५-८ ले पाँचौ सेट जित्दै कर्णाली च्याम्पियन बन्न सफल रहयो।