Breaking News

असी प्रतिशतले घट्यो सुन कारोबार

काठमाडौँ । सुनको मूल्य अस्वाभाविक रूपमा बढेपछि नयाँसडकलगायतका सुनचाँदी पसल सुनसान बनेका छन् ।

माघ, फागुन महिनामा बिहेको लगन हुन्छ । विगतका वर्ष यसबेला सुन पसलमा गहना खरिद गर्ने ग्राहकको भिड लाग्ने गर्थ्यो । व्यापार पनि अन्य सिजनको तुलनामा दोब्बरले बढी हुने गर्थ्यो । अहिले भने अधिकांश सुनचाँदी पसल सुनसान छन् ।

सुनको मूल्य बढेर साढे तीन लाखनजिक पुगेपछि बजारमा माग नहुँदा सुनको कारोबार ठप्प छ । मुख्य बजारका सुन पसलमा फाट्टफुट्ट कारोबार भए पनि अन्य पसलमा भने कारोबार ठप्प छ । मूल्य बढ्दा सुनको कारोबार ८० प्रतिशतले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहेको सिजन भए पनि बजारमा सुनको २० प्रतिशतभन्दा बढी कारोबार हुन सकेको छैन । महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले मूल्य बढेकाले सुनको माग नै नहुँदा कारोबार हुन नसकेको जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय बजार अस्थिर हुँदा सुनको मूल्य बढ्ने घट्ने अनुमान गर्न कठिन भएको उहाँले जानकारी दिनुभयो । निरन्तर बढेको सुनको मूल्यले सुनचाँदी व्यवसायमा ठुलो असर परेको उहाँको भनाइ छ । सुनको मूल्य तोलामा चार लाख पुग्यो भने धेरै सुनचाँदी पसल बन्द हुने अवस्थामा पुग्ने उहाँको भनाइ छ ।

काठमाडौँको नयाँसडकस्थित लक्ष्मी गोल्ड अर्नामेन्टका सञ्चालक लक्ष्मी महर्जनले सुनको कारोबार ठप्प भएको बताउनुभयो । “उपभोक्तासँग क्रयशक्ति नहुँदा माग छैन,” उहाँले भन्नुभयो, “यसरी नै मूल्य बढ्दै जाने हो भने सुनचाँदी व्यवसाय सञ्चालन गर्नै नसक्ने अवस्था हुन्छ ।” सुनको व्यापार नहुँदा पसलको भाडा र कर्मचारीलाई तलब खुवाउनसमेत समस्या पर्न थालेको उहाँको भनाइ छ ।

यस्तै जयश्री महालक्ष्मी ज्वेलर्सका प्रबन्धक विष्णु सापकोटाले विवाहका लागि आवश्यक पर्ने ग्राहक मात्र आउने गरेको जानकारी दिनुभयो । अस्वाभाविक रूपमा सुनको मूल्य बढेपछि अत्यावश्यक परेकाले कम मात्रामा सुन खरिद गरेर काम चलाउने र केहीले पुराना गहना बेचेर त्यसमा थपेर नयाँ लैजाने गरेको उहाँको भनाइ छ । सामानको अर्डर आएपछि मात्र काम हुन्छ नत्र गहना बनाउने कालिगडसमेत खाली बस्नु परेको उहाँको भनाइ छ । विगतका वर्ष बिहेमा एकै परिवारले १० तोलासम्म सुन किन्ने गरेकोमा अहिले थोरै सुनले काम चलाउने गरेको उहाँको भनाइ छ ।

देशभर २२ हजार सुनचाँदी पसल सञ्चालनमा छन् । सुनको कारोबार नभएपछि सुनचाँदी व्यवसायमा प्रत्यक्ष असर परेको छ । सुनचाँदी व्यवसायमा काम गर्ने कर्मचारी र कालिगड साढे दुई लाख छन् । सुनको कारोबार घटेर २० प्रतिशतमा झर्दा सुनचाँदी व्यवसायमा काम गर्नेलाई ठुलो असर परेको व्यवसायीको भनाइ छ । निरन्तर बढेको सुनको मूल्यले सुनचाँदी व्यवसायीसँगै उपभोक्तालाई समेत असर परेको छ । उपभोक्ताको क्रयशक्ति कम हुँदा सुनका गहना खरिद गरेर प्रयोग गर्न सक्ने अवस्था छैन । जसको कारणले गर्दा पनि बजारमा सुनको कारोबार दिनप्रतिदिन घट्दै गएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्का अनुसार बिहीबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार पाँच सय र एक तोला चाँदीको पाँच हजार ३४० कायम भएको छ ।

सम्बन्धित समाचार

माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु

माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु

गोरखा। मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ । शनिबार...

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...

जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना

जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना

काठमाडौँ। गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा जनसङख्या...

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...