नेपालगञ्जमा बकर इद धुमधामले मनाइँदै

काठमाडौं । नेपालगञ्जका इस्लाम धर्मावलम्बीहरूले आज यहाँ बकर इद धुमधामका साथ मनाइरहेका छन् । बिपीचोकस्थित इदगाहमा भेला भएर उनीहरुले विशेष नमाज पढ्दै शुभकामना आदान–प्रदान गरेका छन् ।

इद उल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने प्रचलन रहेको छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।

हिजरी संवत्अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धार्मिक अगुवाहरू बताउँछन् ।

नमाज पढिसकेपछि घर–घरमा गई बलि दिने र एकापसमा शुभकामना आदान–प्रदान गर्नुका साथै आफ्ना आफन्तजनसँग बसेर मीठो खानेकुरा खाने प्रचलन रहेको समाजसेवी निजामुद्दिन सिद्दीकीले जानकारी दिए ।

उनले नेपालगञ्ज उपमहानगरपालिकाका २३ वडामा रहेका इदगाहमा आ-आफ्नो ढंगले नमाज पढ्ने गरेको उल्लेख गरे । उपमहानगरका जयसपुर, परस्पुरलगायतका ठाउँमा इदगाह रहेको छ । नेपालगञ्जलाई ‘धार्मिक सद्भाव’को सहर मानिन्छ ।

इस्लाम धर्मावलम्बीले विभिन्न जनावरको बलि दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरिब र दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ ।

You might also like
Comments
Loading...