कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा जित्नेगरी चुनावी अभियान अगाडि बढाएका छौं : भुर्तेल

विकास भुर्तेल, गण्डकी प्रदेश समिति सदस्य तथा आइटी विभाग प्रमुख, राष्ट्रिय स्वतन्त्र पार्टी, गण्डकी प्रदेश

युवा व्यवसायी विकास भुर्तेल पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिमा सक्रिय छन् । पार्टीको गण्डकी प्रदेश समिति सदस्य एवं आइटी विभाग प्रमुख भएर उनले जिम्मेवारी बहन गरिरहेका छन् । मंसिर ४ गते हुने आसन्न निर्वाचनका लागि उनले पार्टीको तर्फबाट कास्की क्षेत्र नं. २ को निर्वाचन परिचालन समिति संयोजक भएर चुनावी कमाण्डर बनेका छन् । यसैक्रममा चुनावी अभियान र पार्टीमा केन्द्रित रहेर भुर्तेलसँग गरिएको कुराकानी :

राष्ट्रिय स्वतन्त्र पार्टीमा किन लाग्नुभयो ?

म बिगत १६ वर्षदेखि आइटी व्यवसायमा आबद्ध छु । व्यवसायमा सक्रिय हुने क्रममा राजनीति प्रति पनि चासो हुनु स्वभाविक हो । विशेष गरी सामाजिक काममा म विभिन्न संस्थामार्फत निरन्तर सक्रिय रहँदै आएको छु । पछिल्लो समय पुराना राजनीतिक दलप्रति आम जनतामा विस्तृष्णा बढिरहेको छ । अब युवाहरु परिवर्तनको पक्षमा उभिनुपर्छ र राजनीतिमा पनि विकल्प सोच्नुपर्छ भन्ने मान्यताले मैले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुने सोचेको हुँ । जस अन्तर्गत अहिले म पार्टीको गण्डकी प्रदेश समिति सदस्य तथा आइटी विभाग प्रमुख भएर काम गरिरहेको छु ।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति तपाईं आकर्षित हुनुको मुख्य कारण के हो ?

सबै भन्दा महत्वपूर्ण पक्ष भनेको पुराना राजनीतिक दलहरुप्रतिको वितृष्णा नै हो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सारेका नीति तथा योजनाहरु मलाई मन परेको छ । जनतामा आशा बढाउने गरी पार्टीले एउटा उत्साह बढाएको छ । पुराना पार्टीहरु व्यवस्था परिवर्तनमा सफल भए तर अवस्था परिवर्तन गर्न सकेनन् । अब यो पार्टीले देश र जनताको अवस्था परिवर्तन गर्नेछ भन्नेमा विश्वस्त छु । अर्को महत्वपूर्ण पक्ष भनेको पार्टीले डिजिटल डेमोक्रेसी अवधारणालाई अगाडि सारेको छु । म पनि आइटी व्यवसायमा आबद्ध भएको व्यक्ति भएकाले यो अवधारणालाई अंगीकार गर्न अग्रसर भएको छु । अबको युग भनेको डिजिटल तथा सूचना, प्रविधिको हो । यसलाई राजनीतिक दलहरुसँगै देशले पनि प्राथमिकतामा राख्नुपर्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा सूचना तथा प्रविधिको प्रयोग कस्तो छ ?

देशभर नै पार्टीले सूचना तथा प्रविधिलाई भरपुर प्रयोग गर्दै चुनावी अभियान अगाडि बढाएको छ । गण्डकी प्रदेशमा पनि यसको प्रयोग व्यापक भइरहेको छ । उम्मेदवार छनोटमा पनि हामीले वेवसाइट र मोबाइल एप्लिकेसनको माध्यमबाट अनलाइन आवेदन लियौं । अनलाइन भोटिङ मार्फत नै लोकप्रिय उम्मेदवार छनोट गरी उम्मेदवारी अभियान अगाडि बढायौं, यसैबाट पनि पुष्टि हुन्छ पार्टीले सूचना तथा प्रविधिलाई सधैं प्राथमिकतामा राख्छ र राख्नेछ ।

आसन्न निर्वाचनका लागि कास्की क्षेत्र नं. २ को निर्वाचन परिचालन समिति संयोजक हुनुहुन्छ । कस्तो छ चुनावी अभियान ?
अन्य क्षेत्रमा जस्तै गरी कास्की २ मा पनि चुनावी अभियान अगाडि बढिरहेको छ । हामीले चुनावी अभियानका क्रममा डिजिटल प्रचारप्रसारलाई पनि प्राथमिकतामा राखेका छौं । त्यसका साथै जनताको घरघरमा जाने र चुनावी अभियान अगाडि बढाउने तयारी पनि भइरहेको छ । जनताको उत्साहजनक साथले हामी पनि उत्साही छौं । कास्की २ मा हामीले शिक्षा तथा व्यावसायिक क्षेत्रमा लामो समयको अनुभव संगालेका व्यक्तिलाई उम्मेदवार बनाउन सफल भएका छौं । उहाँले कास्की २ को भुगोल एवं यहाँको जनताको पिर मर्कालाई नजिकबाट चिन्नुहुन्छ । यहाँका जनताले नयाँ विकल्पसहित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललार्ई विजयी गराउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं ।

जनताले नयाँ पार्टीलाई मत दिनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

पुराना पार्टीलाई जनतालाई सधैं विजयी गराउँदै आए । पुराना पार्टीबाट कुनै पनि राम्रो काम भएको महसुस भएको छैन । हाम्रो पार्टीले नयाँ योजनासहित जनतामा आएको छ । जनताबाट उत्साहजनक मत प्राप्त हुनेछ भन्नेमा हामी विश्वस्त छौं । कास्कीका ३ वटै सिटमा हामी विजयी हुने गरी अगाडि बढेका छौं । प्रदेशका अन्य जिल्लामा पनि हाम्रो पार्टीका पक्षमा माहोल राम्रो छ ।

You might also like
Comments
Loading...