चितवनमा नियमित स्तनपान गराउनेको सङ्ख्या बढ्दै

चितवन । जिल्लामा नवजात शिशुलाई नियमित स्तनपान गराउनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्यांकलाई  हेर्दा शिशु जन्मिएपछि छ महिनासम्म पूर्ण स्तनपान गराउनेको संख्या बढ्दै गएको हो ।

स्वास्थ्य कार्यालय चितवनले प्रकाशन गरेका वार्षिक प्रगति प्रतिवेदनअनुसार जिल्लामा गत आर्थिक वर्षमा ३० प्रतिशत बालबालिकाले छ महिनासम्म पूर्ण स्तनपान गरेका छन् । यो सङ्ख्या आर्थिक वर्ष २०७७/७८ मा १९ दशमलव ३ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०७६/७७ मा यो सङ्ख्या १७ दशमलव २ प्रतिशत रहेको थियो ।

यस्तै तीन आर्थिक वर्षमा छ महिनापछि पूरक खाना खुवाउनेको सङ्ख्या पनि बढ्दो क्रममा रहेको कार्यालयको तथ्यांकले जनाएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत गीतागञ्जली ढकालका अनुसार आर्थिक वर्ष २०७८/७९ मा पूरक खाना खुवाउनेको सङ्ख्या ३२ दशमलव ६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा यो सङ्ख्या १७ दशमलव ९ प्रतिशत रहेको थियो भने २०७६/७७ मा १४ दशमलव ९ प्रतिशत थियो ।

कार्यालयका गरेको वृद्धि अनुगमनका क्रममा १ दशमलव २ प्रतिशत बालबालिकामा कम तौल भएको पाइएको ढकालले जानकारी दिनुभयो । कम तौल हुनेमा राप्ती नगरपालिकामा धेरै रहेका छन् । आर्थिक वर्ष २०७७/७८ मा यस पालिकामा १० दशमलव ६ प्रतिशत बालबालिकामा कम तौल रहेको थियो भने आर्थिक वर्ष २०७८/७९ मा ३ दशमलव ५ मा झरेको छ । यो सङ्ख्या आर्थिक वर्ष २०७६/७७ मा ६ दशमलव ६ प्रतिशत रहेको थियो ।

शिशु जन्मिएको छ महिनासम्म नियमित स्तनपान गराउँदा स्वस्थ पौष्टिक तत्व पाउने भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा खेमराज पौडेलले जानकारी दिए । उनका अनुसार नियमित आमाको दूध सेवनले बच्चामा रोगसँग लड्नसक्ने क्षमता वृद्धि गर्ने, अन्य रोगको सङ्क्रमण कम हुने, बच्चाको वृद्धि विकास छिटो हुने गर्दछ ।

आमाले आफ्नो शरीरको बनावट बिग्रने बहानामा बच्चालाई दूध खुवाउन छाड्ने गरेको भन्दै उहाँले त्यसो गर्नु बाल स्वास्थ्यका लागि नराम्रो भएको उनको भनाइ छ । छ महिनापछि पूरक खाना खुवाउँदा बच्चालाई थप पोष्टिक तत्व लिटो, जाउलो, भैँसीको दूध खुवाउँदा बालबालिका बढ्न सहयोग पुग्ने उनले बताए ।

आमाको दूधबाट अपुग हुने पदार्थको पूरक खानाबाट मिल्ने गरेको पौडेलले बताए । उनले भने, “छ महिनापछि आमाको दूधले पौष्टिक तत्व पुग्दैन । यसका लागि पूरक खाना खुवाउनु पर्छ ।” शारीरिक तथा मानसिकरुपमा वृद्धि विकासका लागि पूरक खाना आवश्यक रहेको उनले बताए । बच्चाको खानपानमा ध्यान नदिँदा तौलम कमी आउने डा पौडेलले जानकारी दिए ।

You might also like
Comments
Loading...