म्याट्रेसमा विदेशी भन्दा ‘क्लासिक’ ब्राण्ड लोकप्रिय हुनु गौरवको विषय

अदिती श्रेष्ठ, मार्केटिङ डाइरेक्टर, क्लासिक इन्डष्ट्रिज प्रालि

अदिती श्रेष्ठले विद्यालय शिक्षापछि युलेन्स स्कुलबाट दशजोड दुईसम्मको अध्ययन सकिन् । त्यसपछि उच्च शिक्षाको लागि उनको गन्तव्य बन्यो अष्ट्रेलिया । उच्च शिक्षाको लागि उत्कृष्ट गन्तव्य बनेको अष्ट्रेलिया पढाईसँगै आधुनिक युगलाई जान्ने बुझने अवसर पनि थियो । त्यसले पनि उनले यो ठाउँ रोजिन् र अष्ट्रेलियाको अग्रणी बिजनेस स्कुल ‘म्याक्वेरी युनिभर्सिटी’ सिड्नीबाट उनले सन् २०२१ मा ब्याचलर अफ बिजनेस एडमिनिष्ट्रेसन (बिबिए) अध्ययन पुरा गरिन् । जागिरको अनुभवसहित अध्ययन पुरा गरिन् ।

त्यहाँ थुप्रै अवसर नपाएकी होइनन् । तर, उनलाई आफ्नै देशमा फर्किएर परिवारले सुरु गरेको व्यवसायमा संलग्न हुने र यसलाई बेग्लै अनुभवसहित नयाँ उचाईमा पुरयाउने सोच थियो । संसारभर कोभिड महामारी उत्कर्षमा पुगेको यो समयलाई उनले चुनौतीको रुपमा लिइन् तर पछाडि हटिनन् । स्वदेश फर्किएर क्लासिक इन्डष्ट्रिजलाई आकर्षक ढंगले नयाँ उचाईंमा पुर्याउने दृढ अठोट लिइन् ।

२०२१ अगष्टबाट कम्पनीको मार्केटिङ डाइरेक्टरको जिम्मेवारीसँगै उनको नयाँ यात्रा सुरु भयो । ‘विदेशमा बसेको भए मैले थुप्रै अवसरहरु नपाएको होइन् । तर, मलाई आफ्नै देशमा आएर केही गर्ने सोच थियो, त्यही हुटहुटी र उत्साहले मेरो मन त्यहाँ बस्न मानेन र फर्किए स्वदेशमै,’ उनले भनिन् । बुबा भरतकुमार श्रेष्ठले सन् १९९० मा सुरु गरेको क्लासिक इन्डष्ट्रिजलाई उनले अहिले नयाँनयाँ भिजनसहित नेतृत्व प्रदान गरिरहेकी छन् । बुबाले सानो लगानीबाट सुरु गरेको यो उद्योग अहिले विस्तार र वृहत हुँदै गएको छ । उनको ध्यान दिनरात वा भनौ अहोरात्र यो कम्पनीलाई कसरी अझै अब्बल र उत्कृष्ट बनाउने भन्ने नै छ । त्यसैको परिणामा क्लासिक ब्राण्डलाई थप परिचित र प्रभावकारी बनाउँदै उनी कम्पनीको काममा सक्रिय बनेकी छन् ।

सुरुमा सिरक र सिरानी उत्पादनबाट कम्पनीले व्यवसाय सुरु गरेको थियो । जुन उद्योग दक्षिण एसियाकै पहिलो स्प्रिङ म्याट्रेस उत्पादन गर्ने कम्पनी हो । अहिले स्प्रिङमा बोन्नेल स्प्रिङ र पकेट स्प्रिङ म्याट्रेस उत्पादन उद्योगमा भइरहेको छ । बोन्नेल स्प्रिङ सुरुबाटै उत्पादन हुँदै आइरहेको हो । पकेट स्प्रिङ उत्पादन थालेको पाँच वर्ष भयो । कम्पनीले १० वर्षदेखि क्वायरको म्याट्रेस उत्पादन गरिरहेको छ ।

कम्पनीले सिरक, सिरानी, बेडसिट, होटल रेन्जको प्रडक्टहरु, बाथरुमको रगहरु, रुमको कार्पेट उत्पादन पनि सुरु गरिसकेको छ । फोमको युनिट सुरु भइसकेको छ । फोमको व्यावसायिक सुरुवात गर्ने तयारीमा कम्पनी छ । ‘हामी कम्प्लिट बेड सोलुसनको अवधारणाबाट अगाडि बढेका छौं,’ उनले भनिन् । होटल, रिसोर्ट, घरमा आवश्यक बेड, म्याट्रेस लगायतका सेवा उपलब्ध गराउन कम्पनी सफल छ । यसको म्याट्रेस उद्योग बाराको सिमरामा छ । उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी सयौं जनाले रोजगारी पाइरहेका छन् ।

म्याट्रेसमा २० वटा रेन्ज

म्याट्रेसको मूल्य ५ हजार रुपैयाँदेखि १ लाख २० हजार रुपैयाँसम्म तोकिएको छ । ‘सबै खालका ग्राहकलाई लक्षित गरी हामीले म्याट्रेस उत्पादन गरिरहेका छौं,’ उनले भनिन् । कम्पनीले २० भन्दा बढी रेन्जका म्याट्रेसहरु बजारमा उपलब्ध गराएको छ । ‘ग्राहकले आफ्नो आवश्यकता र क्षमता अनुसारको म्याट्रेस खरिद गरी प्रयोग गर्न सक्छन्,’ उनले भनिन् ।

कम्पनीले काठमाडौंको गैरीधारामा आधुनिक शोरुम स्थापना गरेको छ । ५ हजार ८ सय स्क्वायर फिटमा तयार भएको शोरुममा कम्पनीका सबै उत्पादनहरु बिक्री तथा प्रदर्शनमा राखिनेछन् । यस अगाडि बाँसबारीमा रहेको कर्पोरेट कार्यालय पनि गैरीधाराबाटै सञ्चालन हुनेछ ।

कम्पनीले क्वायर म्याट्रेस भारतमा समेत निर्यात गर्दै आइरहेको छ । चारवर्षदेखि भारतका विभिन्न ठाउँमा र ६ महिनादेखि चीनमा म्याट्रेस निर्यात हुँदै आइरहेको छ । म्याट्रेस निर्यात गरेर अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली प्रडक्टले प्रतिस्पर्धा गर्न सक्छ भन्ने उदाहरण कम्पनीले पेश गर्नु सुखद भएको उनको भनाइ छ । पहिलो चरणमा भारत र चीनमा निर्यात गरिएको र आगामी दिनमा अन्य देशमा पनि निर्यात गर्न अध्ययन भइरहेको श्रेष्ठले जानकारी दिइन् । विशेष गरी मध्यपूर्वका देशहरुमा निर्यात गर्ने योजना रहेको उनले सुनाइन् ।

फर्निचर उद्योग

क्लासिक इन्डष्ट्रिजले फर्निचर उद्योग पनि सुरु गरिसकेको छ । पर्सामा म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गरी फर्निचर उत्पादनको काम सुरु भएको हो । आगामी दशैं अगाडि नै फर्निचर उत्पादनहरु बजारमा ल्याउने उद्योगको तयारी छ । अन्तर्राष्ट्रियस्तरका आधुनिक फर्निचर उत्पादन गर्नेगरी उद्योगमा मेसिनहरु सेट भइसकेका छन् ।

फर्निचरमा कम्प्लिट सोलुसन दिने उद्योगको रणनीति छ । बिगत ३५ वर्षदेखिको बजार नेटवर्क भएकाले फर्निचरको मार्केटिङमा उद्योगलाई सजिलो हुनेछ । म्याट्रेस बिक्री गर्ने १८ वटा डिष्ट्रिव्युटर्स र हजार भन्दा बढी रिटेलरहरुसँगकै सहकार्यमा फर्निचरलाई बजारीकरण गर्ने कम्पनीको योजना छ ।

कार्पेट उत्पादनमा पनि अग्रसर

कम्पनीले कार्पेट उत्पादन पनि सुरु गरिसकेको छ । लगानी बढाउने क्रममा कम्पनीले अदिरा फ्लोअर्स प्रालिमार्फत कार्पेट उत्पादन सुरु गरेको हो । पर्सामा उद्योग स्थापना गरी साउनबाट कार्पेट उत्पादन सुरु भइसकेको श्रेष्ठले जानकारी दिइन् ।

‘हामी कम्प्लिट बेड सोलुसनको अवधारणाबाट अगाडि बढेका छौं । कार्पेटलाई विश्वभर विस्तार, फर्निचर तथा म्याट्रेसलाई भारत र चीन निर्यात गर्ने योजना छ ।’

कम्पनीमा पहिलो चरणमा १ एमएम र एक दशमलव पाँच एमएमको कार्पेट उत्पादन सुरु गरेको छ । आगामी दिनमा कार्पेटको रेन्ज बढाउने कम्पनीको तयारी छ । कम्पनीले प्रिमियम रेन्जको प्रडक्ट उत्पादन गरेको छ । ‘भविष्यमा लो रेन्जको प्रडक्ट पनि आउनेछ,’ उनले भनिन् । कार्पेट बिक्री वितरणका लागि पनि म्याट्रेसकै नेटवर्क प्रयोग हुनेछ । फर्निचर र कार्पेट विदेशमा समेत निर्यात गर्ने कम्पनीको योजना छ । कार्पेटलाई विश्वभर विस्तार गर्ने र फर्निचर तथा म्याट्रेसलाई भारत र चीनमा लक्षित गरी निर्यात गर्ने योजना श्रेष्ठले सुनाइन् ।

स्वदेशी ब्राण्डलाई लोकप्रिय बनाउन सफल

स्वदेशी ब्राण्डलाई देशभर लोकप्रिय बनाउन आफूहरु सफल भएको र विदेशी ब्राण्डको मागलाई घटाउन सहयोग पुगेको कम्पनीको दावी छ । राज्यले पनि स्वदेशी ब्राण्डलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । म्याट्रेसमा विदेशी ब्राण्ड भन्दा पनि क्लासिक ब्राण्ड लोकप्रिय हुनु गौरवको विषयमा भएको उनी बताउँछिन् ।

‘म्याट्रेसको बजारमा नेपालमा क्लासिक अग्रस्थानमा छ,’ उनले भनिन् । कम्पनीले आवश्यक कच्चा पदार्थ कोरिया, ताइवान, चीन, भारतबाट ल्याउछ भने केही नेपाली कच्चा पदार्थ नै प्रयोग गर्दै आइरहेको छ ।

Comments
Loading...