‘कांग्रेसको संकल्पपत्र यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी छ’

काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार सार्वजनिक गरेको पार्टीको संकल्पपत्र यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी रहेको बताइएको छ ।

कांग्रेसले संकल्पपत्र का बारेमा विस्तृत जानकारी दिन आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा पार्टीका सहमहामन्त्री एवं घोषणापत्र तयारी समितिका सदस्य जीवन परियारले संकल्पपत्र तयारीका क्रममा भएगरेका अध्ययन तथा कार्यका बारेमा जानकारी गराएका थिए ।

उनले संकल्पपत्र तयारीका लागि पार्टीको २०१५ सालको घोषणापत्रदेखि सबै घोषणापत्र अध्ययन गरी के कति कमजोरी भए र कति कार्यान्वयन भएलगायत विषयमा अध्ययन गरिएको जानकारी गराए । उनले अहिले अहिलेको संकल्पपत्र मुलुकको वास्तविक अवस्थामा आधारित रहेर कार्यान्वयनयोग्य, यथार्थपरक, निरन्तरतामा नवीनता र आशावादी रहेको स्पष्ट पारे ।

यस्तै सञ्चारकर्मीका जिज्ञासा बारेमा स्पष्ट पार्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं समिति सदस्य डा स्वर्णिम वाग्लेले हाल छरिएका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गर्न संकल्पपत्रमा कोखदेखि शोकसम्म कार्यक्रम प्रस्ताव गरिएको बताए ।

जीवनका जोखिमपूर्ण चरणमा राज्यले कसरी सहयोग गर्न सक्छ भनेर नै उक्त कार्यक्रम ल्याइएको स्पष्ट पार्दै उनले साधन स्रोतको मितव्ययी परिचालन गर्न पनि यो कार्यक्रम अघि बढाइएको जानकारी गराए । यसले लोककल्याणकारी राज्यको जग बसाल्ने डा वाग्लेको भनाइ थियो ।

उनले संकल्पपत्रमा उल्लेख ऊर्जालगायतका तथ्यांक यथार्थपरक र वास्तविक भएको स्पष्ट पार्दै निजी क्षेत्रलाई उत्साही बनाउने विभिन्न कार्यक्रम रहेकोसमेत जानकारी गराए । डा वाग्लेले विसं २०४९ पछि कांग्रेसको नीतिअनुसार मुलुकमा शैक्षिक, स्वास्थ्य, आर्थिक, सामाजिक, भौतिक प्रगति र सिर्जना भएको रोजगारीको अवस्थाका बारेमा समेत जानकारी गराएको थियो ।

यसैगरी कांग्रेस केन्द्रीय सदस्य एवं समिति सदस्य प्रा डा गोविन्दराज पोखरेलले निजी क्षेत्र प्रवद्र्धन गर्न संकल्पपत्रमा केही नयाँ कुरा ल्याइएको बताए । मुलुकमा २४ घण्टा काम गर्ने वातावरण बनाउन, विद्युत् प्रसारण लाइनको सहज व्यवस्थापनलगायतका नीतिले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उनले जानकारी दिए ।

श्रम बजारको मागअनुसारको व्यवस्थाका लागि पनि आवश्यक मानवस्रोत विकासमा जोड दिइएको बताउँदै प्राडा पोखरेलले संकल्पपत्रका नीति र सिद्धान्त अति महत्वाकांक्षी नभई वास्तविकतासँग नजिक रहेको स्पष्ट पारे । समग्रमा सुशासन र आर्थिक विकास प्राथमिकतामा राखिएको उनको भनाइ थियो ।

समिति सदस्य डा कृष्ण पौडेलले शिक्षा क्षेत्रको विषयमा पार्टीले संकल्पपत्रमा उल्लेख गरेका विषयमा स्पष्ट पार्दै संविधानले व्यवस्था गरेका प्रावधान लागु गर्न प्रतिबद्धता गरिएको बताए । निजी र सार्वजनिक शिक्षालाई कसरी व्यवस्थित गर्ने भनेर पार्टीले विभिन्न कार्यक्रम अघि बढाएको उल्लेख गर्दै उनले रोजगारीमूलक, व्यावसायिक र प्राविधिक शिक्षाका लागि विभिन्न नीति अवलम्बन गरिएको जानकारी दिए ।

कार्यक्रममा गेजा शर्मा वाग्लेले राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्धमा र विदेश नीतिका बारेमा सहमतिको दस्तावेज बनाउनुपर्नेमा प्रस्ताव गरिएको जानकारी गराए । प्रताप पौडेलले स्वास्थ्यका विषयमा संकल्पपत्रमा उल्लेखित विषयका बारेमा स्पष्ट पार्दै स्वास्थ्य प्रणाली व्यवस्थित बनाउन अवलम्बन गरिएको एकीकृत नीतिका बारेमा जानकारी गराए ।

कोही पनि नेपाली नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस् भनेर सबैलाई अनिवार्य बिमामा आबद्ध गराउने तथा क्षमताअनुसार प्रिमियम तिर्नुपर्ने व्यवस्था अघि बढाएको उनले स्पष्ट पारे ।

You might also like
Comments
Loading...