बजारमा देखिन्नन् सयपत्री माला, प्लास्टिकका मालाको भर

मुसिकोट । तिहार नजिकिएसँगै रुकुम पश्चिमका विभिन्न बजारका पसल प्लास्टिकका मालाले भरिभराउ छन् । केही दिनअघि अघि मात्रै फूलमाला नदेखिने बजार क्षेत्रका पसलमा हिजोआज भने तिहारलाई लक्षित गरेर माला लगायतका सामग्री राखिएका छन् ।

बजारका ठाउँठाउँमा तिहार लक्षित सामग्री राखिएका छन् । भाइ टीकाको दिन नजिकिँएसँगै सदरमुकाम खलङ्गा, बागबजार, सल्ले, सेरिगाउँ लगायतका बजार क्षेत्रका पसल माला र तिहारका सामग्रीले रङ्गिएका छन् । तर बजारमा पाइने सबै माला प्लास्टिकका हुन् ।

जिल्लामा सयपत्रीको माला बिक्रीको चलन छैन् । ठूला सहरमा सयपत्रीको मालाको ठूलो व्यापार हुने गरेको भए पनि रुकुम पश्चिममा भने प्लास्टिककै मालाको भर पर्नुपर्छ । जिल्लामा बर्सेनि ठूलो मात्रामा प्लास्टिकका माला खपत हुने गरेको छ । प्लास्टिकका बाहेक फूलका माला पाइँदैन । जिल्लामा फूलको मालाको बजार नरहेको व्यापारी बताउँछन् ।

फूलका माला छिट्टै बिग्रिने भएकाले प्लास्टिककै माला बढी किनमेल हुने गरेको व्यापारी बताउँछन् । तिहारमा मालासँगै ढाकाको टोपीको पनि उत्तिकै माग हुने गरेको खलङ्गा बजारमा कस्मेटिक पसल चलाउँदै आएकी गीता पोख्रेलले बताए । तिहारका लागि माला र ढाका टोपी बुटवल, दाङ लागयतका ठाउँबाट ल्याएर बिक्री गर्ने गरेको उनले बताइन् ।

यस्तै बागबजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी रिमा मल्लले पनि पलास्टिकका मालाको माग धेरै रहेको बताइन् । “फूलको व्यावसायिक उत्पादन नुहुँदा तिहारमा प्लास्टिककै मालाको भर पर्नुपरेको छ”, उनले भनिन् । गाउँघरमा विभिन्न जातका फूलको सामान्य उत्पादन हुने गरेको छ । तर तिहारका लागि फूल किनेर माला बनाउने बानीको विकास नहुँदा यसको व्यापार सुरु हुनसकेको छैन् ।

सरकारले प्लास्टिकका माला बिक्री वितरणमा रोक लगाएको छ । सरकारले प्लास्टिकजन्य मालाको बिक्री वितरण नगर्न र गरेको पाइएमा रु एक लाखसम्म जरिवाना गर्ने सूचना जारी गरेको छ ।

You might also like
Comments
Loading...