भृकुटीमण्डपमा आयोजित जुत्ता चप्पल मेलामा ग्राहकको भिड

काठमाडौं । काठमाडौंको बालुवाटारमा परिवारसहित बस्दै आएकी निर्मला सिग्देल शनिबार काठमाडौंको भृकुटी मण्डपमा जुत्ता चप्पल खरिदमा व्यस्त थिइन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि परिवारसहित उनी केही दिन पछि गृहजिल्ला तनहुँ जाँदैछिन् । भृकुटी मण्डपमा जारी जुत्ता चप्पल व्यापार प्रवद्र्धन मेलामा विशेष छुटमा स्वदेशी ब्राण्डका जुत्ता चप्पल खरिद गर्न पाउँदा खुसी लागेको उनले बताइन् । परिवार र गाउँमा रहेका आफन्तलाई सहित गरी उनले ६ जोर जुत्ता र ५ जोर चप्पल किनिन् ।

कंलकी घर भएका राम बजगाईं पनि मेलामा जुत्ता चप्पल किन्न व्यस्त थिए । उनले आफूसहित छोरी र श्रीमतीका लागि जुत्ता चप्पल खरिद गरेको सुनाए । ‘विशेष छुटमा जुत्ता चप्पल खरिद गर्न पाउँदा खुसी लाग्यो,’ उनले भने, ‘म बिगत वर्षदेखि नै यही मेलामा आएर सपिङ गर्छु ।’

फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालद्वारा आयोजित उक्त मेलामा निर्मला र राम मात्रै होइन धेरै सर्वसाधरणको भिड देखिन्छ । मेलामा १० देखि ५० प्रतिशतसम्म छुटमा जुत्ता चप्पल बिक्री भएकाले पनि उपभोक्ताको आकर्षण देखिएको बताउँछन् मेला संयोजक सुरज बन्जाडे । ‘हामीले विशेष छुटमा स्वदेशी ब्राण्डका गुणस्तरीय जुत्ता चप्पल बिक्री गरिरहेका छौं,’ उनले भने ।

स्वदेशी उद्योगहरुको प्रवद्र्धनसहित आर्थिक क्षेत्रलाई चलायमान बनाउने लक्ष्यले मेला आयोजना गरिएको उनले बताए । वैशाख १७ गते सुरु भएको मेला जेठ ८ गतेसम्म चल्नेछ ।

मेलामा २२ वटा उद्योगका करिब सय वटा स्टल रहेको बन्जाडेले जानकारी दिए । ‘आगामी दिनमा मेलामा अवलोकनकर्ताहरुको अझै भिड लाग्ने हामीले विश्वास लिएका छौं,’ उनले भने ।

You might also like
Comments
Loading...