election

बर्सेनि घट्दै सुनौलो तोप चरा

काठमाडौं । विश्वमै दुलर्भ मानिएको सुनौलो तोप चराको संख्या बर्सेनि घट्दै जान थालेको छ ।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित गरिएको दक्षिण एशियाको नेपाल र भारतमा मात्रै पाइने संकटापन्न अवस्थामा रहेको सुनौलो तोप चरा बास स्थान नासिँदै जान थालेपछि यसको संख्या घट्दै जान थालेको हो ।

नेपाल पक्षी संरक्षण संघ (विसिएन)ले हालै गरेको सर्भेक्षणमा सुनौलो तोप चराको संख्या घटेको पाएको छ । संघको अगुवाइमा बर्सेनि चरा सर्भेक्षणको कार्य हुँदै आएको छ । संघका चरा विज्ञ हिरुलाल डङ्गौराका अनुसार सर्भेक्षणका क्रममा यस वर्ष निकुञ्जमा २४४ तोप चरा फेला परेका छन् ।

सबैभन्दा बढी लालपानी क्षेत्रमा तोप चराले गुँड लगाएका छन् । बन्दाताल, मोहनपुर फाँटामा समेत यी चरा देखा परेका छन् । सन् २०२१ मा २४८, सन् २०२० मा २५३, सन् २०१९ मा १७६ र सन् २०१८ मा २५४ वटा तोप चरा फेला परेका थिए । सन् २०१४ देखि निरन्तररुपमा सुनौलो तोप चराको सर्भेक्षणको कार्य हुँदैआएको छ ।

यसैगरी निकुञ्जमा सन् २०१४ मा ६०, सन् २०१५ मा २०० र सन् २०१६ मा २५० सुनौलो तोप चरा देखा परेका थिए । “पहिला निकुञ्जको बाह्य क्षेत्रमा धेरै घाँसे मैदान रहेकामा हाल मानव अतिक्रमणका कारण घाँसे मैदान अतिक्रमणमा परेका छन्”, उनले भने, “घाँसे मैदानमा रहेका रुख र घाँसमा तोप चराले गुँड लगाउथे । ती सबै नासिए । हाल निकुञ्जको संरक्षित क्षेत्रभित्रको घाँसे मैदान मात्रै बाँकी रहेको छ ।

सुनौलो तोप चराले आहाराका लागि निकुञ्ज नजिकका किसानका खेतसम्म पुग्ने गर्दछन् । “कृषिमा अन्धाधुन्धरुपमा विषादीको प्रयोग हुन थालेपछि चराले खेतमा विषादी प्रयोग गरिएको अन्नलगायत खाँदा मर्ने गरेका छन् ।” उनले भने । अर्को सुनौलो तोप चरा विनाशका कारणमा अन्य सिकारी चराले प्रजननका बेला गुँडमा रहेका बच्चा र अण्डा खाइदिने गरेको उनको भनाइ छ ।

सुनौलो तोप चरा झट्ट हेर्दा भगेरा जस्तै तर पहेलो रङको हुने भएकाले यसलाई सुनौलो तोप चरा भनिएको हो । रुखका हाँगामा पात सिएर यस चराले गुँड बनाउने गर्दछ । तोप चराका सुनौलो, बाया, छातिकाले र धर्केगरी चार वटा प्रजाति पाइने गरेका छन् । जसमध्ये सुनौलो तोप चरा दुलर्भ प्रजातिका रुपमा छ ।

सुनौलो तोप चरा अन्यभन्दा पृथक किसिमको रहेको छ । सन् १९९६ मा चरा विद् हेमराज बरालले शुक्लाफाँटामा सुनौलो तोप चरा पत्ता लगाएका थिए । सुनौलो तोप चरा पत्ता लागेपछि निरन्तररुपमा निकुञ्ज कार्यालयले यसको नियमित रेकर्ड राख्दै आएको छ । सन् २००७ मा कोसी टप्पुमा सुनौलो तोप चरा देखिए पनि त्यसपछि यो चरा देखिएको छैन ।

सुनौलो तोप चरा शुक्लाफाँटामा मात्रै रहेकाले यसको संरक्षणमा चासो दिइएको छ निकुञ्जका सूचना अधिकारी रोशनसिंह ठगुन्नाले भने, “किरालगायत खान मन पराउने भएकाले यो चरा किसानका लागि पनि लाभदायक छ ।”

खेतबारीमा हालिने विषादी र अनावश्यकरुपमा मार्ने कार्यले यसको संरक्षणमा अवरोध भएको छ । निकुञ्जको घाँसे मैदान क्षेत्र नजिकका ताल र सीमसार क्षेत्र नजिकका काँडेदार रुखमा सामूहिकरुपमा सुनौलो तोप चराले गुँड बनाउने गर्दछन् ।

उनका अनुसार सुनौलो तोप चरा सिकारी ताल, सिंहपुरफाँटा, मोहनपुर, अण्डैया, पट्टैयाफाँटा र लालपानी फाँटा, दरख घाँसे मैदानमा पाइने गरेको छ ।

तोप चरालाई सामाजिक चराका रुपमा समेत लिइने गरिन्छ । सामूहिकरुपमा गुँड लगाउने र समूहमै रहन मनपराउने हुनाले यसलाई सामाजिक चराका रुपमा समेत लिइने गरिन्छ । आहाराको खोजीका लागि पनि यो चरा समूहमै उड्ने गर्दछ । अलगअलग प्रजातिका तोप चराले अलग्गै किसिमका आकर्षक गुँड बनाउने गर्दछन् ।

एउटै रुखमा सुनौलो तोप चराले सामूहिकरुपमा २० देखि १०० बढी गुँड लगाउने गरेको पाइएको छ । मनसुनका समयमा तोप चराले प्रजनन गर्दछन् । प्रजननको समयमै तोप चराको भालेले घाँसलाई बुनेर आकर्षक गुँड बनाउने गर्दछ । मे महिनादेखि सेप्टेम्बर महिनामा सुनौलो तोप चराले गुँड बनाउने, अण्डा पार्ने र बच्चा हुर्काउने गर्दछन् ।

एक अध्ययनअनुसार तोप चराले २० दिनदेखि २८ दिनमा गुँड तयार गर्दछन् । बाह्य आक्रमणबाट अण्डा र बच्चालाई जोगाउनका लागि गुँड विशेष प्रकारले बनाइएको हुन्छ । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा निकुञ्जमा भने ४२३ प्रजातिका चरा पाइने गरेका छन् ।

You might also like
Comments
Loading...