नेपाली टायरले विदेशी टायरसँग प्रतिस्पर्धा गर्नसक्छ

विक्रम सिंघानिया, प्रवन्ध निर्देशक, डेल्टा डिस्ट्रिव्युटर्स प्रा.लि.

ग्रिन टायर प्रालिले मोरङको कटहरिमा शेर्पा र डेल्टा ब्राण्डको टायर उत्पादन गर्दै आइरहेको छ । प्रालिले शेर्पा ब्राण्डमा एग्रिकल्चर टायर र डेल्टा ब्राण्डमा टु र थ्रि ह्विलर्स टायर उत्पादन गछ । टायरको बिक्री वितरण डेल्टा डिष्ट्रिव्युटर्स प्रालिले गर्दै आइरहेको छ । यसै सन्दर्भमा नेपाली टायरका विषयमा केन्द्रित रहेर डेल्टा डिष्ट्रिव्युटर्सका प्रवन्ध निर्देशक विक्रम सिंघानियासँग खबरसेवाले संक्षिप्त कुराकानी गरेको छः

ग्रिन टायर प्रालिको स्थापना कसरी भयो ?
बिगत २५ वर्षदेखि हामी टायर बिक्री वितरण गरिरहेका छौं । टायर उत्पादन गर्ने देशमा गोरखकाली रवर उद्योग मात्र थियो जुन अहिले बन्द छ । यो उद्योग बन्द भएसँगै टायर विदेशबाट आयात गर्न थालियो । हामीलाई टायर उद्योग खोल्नुपर्छ भन्ने महसुस भयो । केही गर्नुपर्छ भन्ने सोचेर उद्योग स्थापना गरेका हौं ।

उद्योगको टायर उत्पादन क्षमता कस्तो छ ?
उद्योगको क्षमता हेर्ने हो भने टु ह्विलर्स, थ्रि ह्विलर्स प्रति महिना २० हजार पिस उत्पादन गर्ने क्षमता छ । एग्रिकल्चर टायर शेर्पा ब्राण्डमा उत्पादन गरिरहेका छौं । प्रति महिना १० हजार उत्पादन गर्ने क्षमता छ । डेल्टा ब्राण्डमा मोटर साइकल र स्कुटर लगायत टु ह्विलर्स, इ रिक्सा, थ्रि ह्विलर्सलाई डेल्टा ब्राण्डका टायर उत्पादन गरिरहेका छौं । ट्याक्टर, हाते ट्याक्टर लगायतका एग्रिकल्चर टायर शेर्पा ब्राण्डमा पर्छन् ।

नेपाली टायरको बिक्री वितरण कस्तो छ ?
नेपालमा २५ वटा डिलर मार्फत टायर उत्पादन बिक्री वितरण गरिरहेका छौं । ग्राहकबाट सकारात्मक प्रतिक्रिया पाएका छौं । रिपिट अर्डर आउने गरेका छन् । नेपाली उत्पादन भनेर पनि सबैले मन पराउनुभएको छ । देशमा स्वदेशी उत्पादन नभएको लामो समय भएको थियो । अहिलेको नयाँ पुस्तामा पनि नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्छ भन्ने सोच पाइन्छ । सबैको रोजाइमा हामी पर्न सफल छौं । ४ वर्षको अन्तरालमा हामीले सबैबाट सकारात्मक प्रतिक्रिया पाएका छौं । जसले हामीलाई काम गर्ने उत्साह मिलेको छ । भएका कमी कमजोरीलाई पनि सच्च्याउदै गएका छौं ।

नेपाली टायरले विदेशी ब्राण्डसँग प्रतिस्पर्धा गर्न सक्छ ?
हामीले नवीनतम प्रविधि तथा उपकरणकोे प्रयोग गरेर टायर उत्पादन गरिरहेका छौं । कच्चा पदार्थ पनि राम्रोे प्रयोग गर्छौं । हामीले एक्स्पर्ट टिम पनि विदेशबाट ल्याएका छौं । उनीहरु कै निगरानीमा काम भइरहेको छ । विदेशी ब्राण्डभन्दा कुनैपनि कुरामा हामी कमजोर छैनौं । वेट, माइलेज, क्वालिटी, फिनिसिङ लगायत सवै कुरालाई हामीले ध्यान दिएका छौं । नेपाली टायरले विदेशी टायरसँग प्रतिस्पर्धा गर्नसक्छ भन्ने उदाहरण हाम्रो उत्पादन बनेको छ ।

टायर उत्पादन बढाउने आगामी योजना के छ ?
टु ह्विलरबाट शुरु गरेका हौं । बिस्तारै एग्रिकल्चर टायर लगायत अन्य टायर उत्पादन गर्नपनि शुरु गर्यौं । कर्मशियल, हेभी इक्युपमेन्ट, ट्रक टायर लगायतका अझै धेरै प्रकारका टायर हामीले उत्पादन गर्न सक्छौं । यसको लागि केही समय भने लाग्छ । एउटा ब्राण्डको एउटा साइज उत्पादन गर्न पनि करिव ६ महिनाको समय चाहिन्छ । त्यसको डिजाइन बनाएर एप्रुभ गर्नुपर्यो । फिनिस डिजाइस आइसेपछि डाइ बन्छ । डाइ बनेपछि करिव २ महिना टेष्टिङ गर्नुपर्ने हुन्छ । प्रक्रिया लामो छ । हरेक महिना हामीले केही न केही साइज डेभलप गर्ने कोसिस गरिरहेका छौं । अन्य ६ वटा नयाँँ साइज ल्याउने तयारीमा छौं ।

नेपालमा टायर उत्पादनको सम्भावना कस्तो देख्नुहुन्छ ?
नेपालमा टायर उत्पादनको सम्भावना राम्रो छ । भविष्य पनि सुन्दर छ । बस, ट्रक, स्कुटर, मोटरसाइकल ट्याक्टर सबैलाई टायर चाहिन्छ । टायर नभई भेइकल गुड्दैन । त्यसैले टायर उत्पादनमा लगानी बढाउन आवश्यक छ । नेपाललाई समृद्ध बनाउन पनि स्वदेशी सामान उत्पादन र प्रयोग गर्नु आवश्यक छ ।

You might also like
Comments
Loading...