एक्लै घरदैलोमा हिँडेका साम्पाङलाई धराने जनताको लोकप्रिय मत

काठमाडौं । धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै साम्पाङ निर्वाचित भएका हुन् ।

उनले २० हजार ८२१ लोकप्रिय मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार राईले १६ हजार ६९ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मत परिणामअनुसार एमालेबाट उम्मेदवार रहेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र प्राप्त गरिन् ।

सामाजिक अभियान्ता साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आएका थिए । उनले राजनीतिक दलप्रति नकारात्मक सन्देश फैलाउँदै एक्लै घरदैलो गरेका थिए ।

एक्लै भएपनि मुद्दा जायज भएको देखेर धराने जनताले उनलाई लोकप्रिय मत दिएर जिताए । उनले विसं २०७४ को उपनिर्वाचनमा पनि प्रमुखमा उम्मेदवारी दिँदा ४२२ मत ल्याएका थिए। विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनापछि धरानमा वामपन्थीले एक छत्र शासन गर्दै आएका थिए । पहिलो पटक स्वतन्त्र उम्मेदवार नगर प्रमुखमा निर्वाचित भएका छन् ।

धरानको राजनीतिक इतिहासलाई फर्केर हेर्दा २०१७ सालमा नगरपालिका घोषणा भएसँगै वामपन्थी उम्मेदवार नै लगातार प्रमुख भएका छन् । विसं २०४६ को जनआन्दोलनपछि संवैधानिक राजतन्त्रको पालामा २०४८ र २०५४ सालमा भएको निर्वाचानमा वामपन्थी उम्मेदवार नै प्रमुखमा भएका थिए ।

विसं २०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङ्बोले जितेका थिए । उनिहरू दुवै जनाले एमालेबाट चुनाव जितेका थिए । वामपन्थी जीतलाई निरन्तरता दिए । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुब्बाले एमालेबाट जिते । धरानको कूल मतदाता एक लाख ३२४ रहेकामा ६२ हजारले मतदान गरेका थिए ।

त्यस्तै, उपप्रमुखमा लोकतान्त्रिक वाम गठबन्धनबाट अइन्द्रविक्रम बेघा निर्वाचित भएका छन् । बीस हजार ५१० मत प्राप्त गरेर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम इस्वोलाई दुई हजार ९०४ मतान्तरले पराजित गरेका छन् ।

इस्वोले १७ हजार ६०६ मत प्राप्त गरेका छन् । २०७४ सालको निर्वाचनमा प्रमुख र उपप्रमुखमा १४ वडा जितेको एमाले यसपटक निकै खुम्चेको छ । २, ४, ५, ७, ८, १०, १२, १३, १५, १९ नं वडा विजयी भएको छ । प्रमुख र उपप्रमुखमा मत नआए पनि वडाध्यक्षमा उत्कृष्ट मतले एमाले विजयी भएको छ ।

कांग्रेसले १, ३, ९, ११, १६, १८, २० नं विजयी भएको छ । १७ नं वडामा माओवादी केन्द्रका नगर अध्यक्षसमेत रहेका मनोज भट्टराई विजयी भएका छन् । गत निर्वाचनमा पनि भट्टराई विजयी भएका थिए ।

You might also like
Comments
Loading...