परिवर्तन, शान्ति र समृद्धिको पक्षमा मतदान गर्न नेता जनार्दन शर्माको अपिल

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आसन्न स्थानीय तह निर्वाचनमा परिवर्तन, प्रगति, शान्ति र समृद्धिको पक्षमा मतदान गर्न अपिल गरेका छन् ।

आसन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा आज विशेष अपिल जारी गर्दै उनले प्रतिगामी र प्रगतिशील शक्तिबीचका लडाइँका रुपमा निर्वाचन आएकाले प्रतिगमनलाई परास्त गर्नु आजको मुख्य कार्यभार रहेको बताए ।

एक मतले राष्ट्रको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, संविधान र लोकतन्त्रको रक्षा, सामाजिक न्यायसहितको समृद्धिको एजेन्डा संस्थागत गर्न निर्णायक भूमिका खेल्ने उल्लेख गर्दै नेता शर्माले सम्पूर्ण मतदाता र गठबन्धनका नेता कार्यकर्तालाई वाम लोकतान्त्रिक गठबन्धन पक्षधर शक्तिलाई विजयी बनाउन आग्रह गरे ।

स्थानीय तहको कार्यसम्पादनले मुलुकको समग्र समृद्धिको प्रतिनिधित्व गर्नुपर्ने भएकाले सबल, सक्षम, क्षमतावान, सुशासनयुक्त र प्रभावकारी स्थानीय तह अहिलेको आवश्यकता रहेको बताउँदै नेता शर्माले मतदानपूर्व स्थानीय तहको राजस्व परिचालन, पारदर्शीता र सुशासनका सम्बन्धमा ध्यान दिनुपर्ने बताए ।

सीमित स्रोत र साधनकाबीच स्थानीय सरकारले जनताको अपेक्षा र भावनाबमोजिमको काम गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्न सक्नुपर्नेमा जोड दिँदै उनले पारदर्शीता, गुणस्तरीयता, जवाफदेहिता र जनताको अपनत्व पनि सुनिश्चित हुने गरी जनप्रतिनिधिले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

“सङ्घीयताको जग स्थानीय तह भएकाले जनताको आकांक्षाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ । मतदानमा हामीले गर्नुपर्ने विवेकपूर्ण निर्णय यही हो”, उनले भने ।

स्थानीय तहहरू सामान्य सरकार होइनन् भन्दै उहाँले स्थानीय सरकार लोकतन्त्र, विकास, सेवा प्रवाह र शासनका केन्द्रबिन्दुका रुपमा रहेको बताए ।

सङ्घीय संरचनामा सङ्घीयताको लाभ जनतालाई प्रत्यक्ष रूपमा अनभूत गराउने प्रस्थानविन्दु पनि स्थानीय तह नै भएको उल्लेख गर्दै उनले नागरिकको सबैभन्दा नजिकैको शासकीय इकाइ स्थानीय तह सबल र सक्षम नभइ मुलुकको विकास र समृद्धि सम्भव नभएको बताए । “आम नागरिकमा सुशासनको प्रत्याभूति गराउने मुख्य कर्तव्य रहेको स्थानीय तहको महत्व असिमित छ”, उनले भने ।

नेता शर्माले स्थानीय समृद्धि र स्थानीय विकासका लागि स्थानीय तहको समग्र क्षमता विकास कुशल नेतृत्व र पारदर्शी कार्यसम्पादन चाहिने बताए ।

“स्थानीय तहले केन्द्रबाट गएको मात्र होइन, आफ्नै तहको तर्फबाट रोजगारमूलक कार्यक्रम बनाउनुपर्छ स्थानीय तह रोजगार योजना बनाउने र हरेक वर्ष वार्षिक बजेटमा कार्यक्रम समेट्नुपर्छ”, उनले अपिलमा भने, “सीपमूलक तामिल दिने र विदेशबाट आएकालाई सीपअनुसार काम गर्न उत्साही गर्नुपर्छ हामीले यही विषयलाई मध्यनजर गरेर जनप्रतिनिधि छान्नुपर्छ ।”

You might also like
Comments
Loading...