जनप्रतिनिधिको एक महिनाको पारिश्रमिक विपद् कोषमा

किसान सूचीकरण कार्यक्रम सञ्चालन हुने

तनहुँ। तनहुँको म्याग्दे गाउँपालिकाका जनप्रतिनिधिले विपद् व्यवस्थापन कोष स्थापनाका लागि प्रत्येक वर्ष एक महिनाको पारिश्रमिक प्रदान गर्ने निर्णय गरेका छन् ।

उक्त कोषको रकम विपद्को बेला हुनसक्ने क्षति न्यूनीकरणका लागि प्रयोग गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

गाउँपालिकाले सामुदायिक विद्यालयका ‘एक शिक्षकः एक ल्यापटप’ पाँच वर्षभित्र कार्यान्वयन गर्ने, नयाँ आवधिक योजना, पर्यटन, सडक गुरुयोजना, कानुन निर्माण, गरिब विपन्न जेहेन्दार तथा लक्षित विद्यार्थीलाई छात्रवृत्ति कोष स्थापना गर्ने, अति गरिब विपन्न आवास निर्माण गर्ने, सबै लिफ्टिङ खानेपानीको विद्युत् महसुल गाउँपालिकाले तिरिदिने निर्णय समेत गरेको  छ ।

गाउँपालिकाले गरिबी, बेरोजगारी, विदेश पलायन र बसाइँसराइ नियन्त्रणका लागि एक घरः एक व्यवसाय कार्यक्रम सञ्चालन गर्ने, अधुरा तथा क्रमागत योजनासहित अपूरा रहेका ल्याण्डफिल्ड साइड, औद्योगिक ग्राम, खेलमैदान निर्माण सञ्चालन गर्ने, थर्पु दश शय्या अस्पतालमा एमबिबीएस चिकित्सकसहित प्रभावकारी उपचार थालनी गर्ने, अध्यक्ष र उपाध्यक्षसँग जनता कार्यक्रम मासिकरूपमा वडामा सञ्चालन गर्ने, युवा दुव्र्यसनी युवालाई सेवन गर्न छाडेको पारिवारिक घोषणाका आधारमा पोषण अनुदान दिने निर्णय गरेको छ ।

यस्तै जटिल प्रकृतिका अपाङ्गता भएका व्यक्ति र कडा मानसिक रोगीलाई वार्षिक १५ हजार आर्थिक सहायता प्रदान गर्ने भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकाका ६ वटै वडाका जटिल अपाङ्गता भएका व्यक्ति र मानसिक रोगीलाई उक्त सहायता प्रदान गर्ने निर्णय भएको हो ।

गाउँपालिकाले ज्येष्ठ नागरिक र पूर्ण अपाङ्ग तथा कडा मानसिक रोगीलाई टोल-टोलमै पुगेर स्वास्थ्योपचार गर्ने निर्णय गरेको छ । महिनामा एकपटक विकट बस्तीमा आँखा शिविर, स्वास्थ्य, घुम्ती सेवा प्रदान गर्ने निर्णय गरिएको छ । त्यस्तै सुत्केरी, पूर्ण अपाङ्ग, जटिल मानसिक रोगी र अशक्त ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय भएको छ ।

गाउँपालिकाले स्मार्ट तथा नगरोन्मुख गाउँपालिका निर्माण गर्ने, कार्यालयमा नै बैंक खाता खोल्ने, वातावरणमैत्री, बालमैत्री, अपाङ्गतामैत्री, महिलामैत्री स्थानीय शासन कार्यान्वयन गर्ने, ठूला पूर्वाधार तथा बहुवर्षीय दीर्घकालीन गौरवका योजना सञ्चालन गर्ने निर्णय गरेको छ ।

हाल भइरहेको चालु खर्चमा १० प्रतिशतले कटौती गरी पूँजीगत बजेट वृद्धि गर्ने, फोहरमैला सङ्कलन तथा व्यवस्थापन र टिपर प्रयोग गर्ने, लागत साझेदारीमा भित्री सडक कालोपत्र गर्ने, गाउँपालिकाको दोहोरो प्रवेश विन्दुमा प्रवेशद्वार निर्माण गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

चार पालिकामा कार्यपालिका सदस्य चयन

स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएपछि यतिबेला कार्यपालिका सदस्य चयन प्रक्रिया सुरु भएको छ । प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्यले पदभार ग्रहण गरेलगत्तै अहिले कार्यपालिका सदस्य चयनको प्रक्रिया सुरु भएको हो ।

जिल्लाका दश पालिकामध्ये चार पालिकाबाट मतदान र निर्विरोध प्रक्रियाबाट कार्यपालिका सदस्य चयन गरिएको छ । केही पालिकामा भने कार्यपालिकाको निर्वाचन प्रक्रिया सुरु गर्न बाँकी छ ।

बन्दीपुर गाउँपालिकाको कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनबाट नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका हुन् ।

सदस्यमा कांग्रेसबाट उमा घर्ती नेपाली, हरिमाया विक, मीनराम परियार निर्वाचित भएका छन् भने माओवादी केन्द्रबाट कौशिला परियार विक, दमयन्ती थापा र जीवन भुजेल निर्वाचित भएका छन् ।

देवघाट गाउँपालिका कार्यपालिका सदस्यमा कांग्रेसबाट छ जना सदस्य निर्वाचित भएको देवघाटका निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिए ।

महिलाबाट बालकुमारी परियार, मनमाया विक, यममाया गुरुङ, होममाया खाँण, दलित र अल्पसङ्ख्यकबाट गङ्गासिं विक र बाबुराम परियार निर्वाचित भएका छन् ।

आँबुखैरेनी गाउँपालिकामा कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् । कार्यपालिका सदस्यमा माओवादी केन्द्रका छ जना निर्विरोध निर्वाचित भएका हुन् ।

महिलातर्फ बसुन्धरा गौली, सुशीला नेपाली, सम्झना सुनार, सुनकुमारी गुरुङ, दलित वा अल्पसङ्ख्यकतर्फ गङ्गा विक र भूगोल विक निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय आँबुखैरेनीले जनाएको छ ।

म्याग्दे गाउँपालिकाको कार्यपालिका सदस्यमा छ जना निर्वाचित भएका छन् । कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनबाट छ सदस्यमा निर्वाचित भएका हुन् ।

कार्यपालिका सदस्यमा बद्रीका भट्टराई घिमिरे, चिनीमाया थापा, जानकी थापा, सीता कुमाल, थममाया विक र होमबहादुर नेपाली निर्वाचित भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

व्यास नगरपालिकामा केही दिनभित्र कार्यपालिका सदस्य चयन प्रक्रिया सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

व्यासमा बुधबार मात्रै जनप्रतिनिधिले शपथग्रहण गरेकाले केही दिनभित्र कार्यपालिका सदस्यको निर्वाचन गरिनेछ । व्यासमा कांग्रेसको बहुमत रहेकाले कार्यपालिकामा पनि कांग्रेसबाटै निर्वाचित हुने निश्चित छ । शुक्लागण्डकी नगरपालिकामा जेठ १९ गते कार्यपालिका सदस्य चयनका लागि निर्वाचन प्रक्रिया हुनेछ ।

किसान सूचीकरण कार्यक्रम सञ्चालन हुने

शुक्लागण्डकी नगरपालिकाले किसान सूचीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

कार्यक्रमअन्तर्गत यस आर्थिक वर्षमा वडा नं १०, ११ र १२ मा किसानलाई सूचीकरण गरिनेछ । आगामी आवमा नगरपालिकाका अन्य वडामा यो कार्यक्रम विस्तार गरिने उनले बताए ।

किसान सूचीकरण कार्यक्रमअन्तर्गत वास्तविक किसानको सूचीकरण गरी अनुदानलगायतका सुविधा वास्तविक किसानलाई प्रदान गर्ने उद्देश्य राखिएको छ ।

]कृषि पेशालाई सम्मानजनक पेशाका रूपमा स्थापित गर्दै युवाहरूलाई आधुनिक तथा व्यावसायिक कृषिमा जोडिने विकले बताए ।  नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन यो कार्यक्रमले भूमिका खेल्ने विकले विश्वास व्यक्त गरे ।

बजेट निर्माण वडा भेला सुरु

व्यास नगरपालिकाले आगामी आवको बजेट, नीति तथा कार्यक्रम निर्माणका लागि वडा भेला गरी सुझाव लिन सुरु गरेको छ ।

आव २०७९/८० को बजेट, नीति तथा कार्यक्रम निर्माणका लागि नगरपालिकाले वडावासीको सुझाव सङ्कलन गर्न वडा भेला सुरु गरेको हो ।

व्यासले वडा नं १ बाट सोमबारदेखि वडा भेला सुरु गरेर वडावासीको सुझाव लिन सुरु गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

नगरपालिकाको नीति, कार्यक्रम र बजेटमा नगरवासीको अपनत्व कायम गराउन सबै वडामा भेला गरी सुझाव सङ्कलन गरिने न्यौपानेले बताए ।  जेठ २७ गतेसम्म सबै वडामा सुझाव सङ्कलन कार्यक्रम गरिने नगरपालिकाले जनाएको छ ।

आज जेठ १७ गते वडा नं २ र १३, १९ गते वडा नं ३ र १२, २३ गते वडा नं ४ र ११, २४ गते वडा नं ५ र ६, २५ गते वडा नं ७ र ८, २७ गते वडा नं १० र ९ गते सुझाव सङ्कलन गरिनेछ । यसैगरी जेठ २१ गते व्यास नगरपालिकामा योजना तर्जुमा गोष्ठी आयोजना गरिनेछ ।

सुझाव सङ्कलन कार्यक्रममा निवर्तमान एवं पूर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, प्रत्यासी उम्मेदवार, टोल विकास संस्था, आमा समूह प्रतिनिधि, क्याम्पस विद्यालय प्रतिनिधि, अन्य सङ्घसंस्थालाई सहभागी हुन आग्रह गरिएको छ ।

You might also like
Comments
Loading...