नेपालको कला विश्वकै चिनारी : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली कला विश्व कै चिनारी भएको बताएको छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा शुक्रबार देखि सुरु भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी, २०७९’ को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपाल प्राकृतिक, सांस्कृतिक र कलाले समृद्ध रहेकाले विश्वकै लागि पहिचान भएको बताए । उनले राष्ट्रिय विभूति अरनिकोदेखिका कलाकारले कलाका माध्यमबाट विश्वमा नेपालको शिर उँचो बनाउने काम गरेको स्मरण गरे । उपराष्ट्रपति पुनले विश्वका जुनसुकै कुनामा पनि नेपाली कला पुगेकोमा खुसी व्यक्त गरे ।

केही वर्षअघि अष्ट्रियाको भियानामा भएको एक कार्यक्रममा सहभागि हुने क्रममा नेपाली लोक, आधुनिक कला प्रदर्शनी देख्दा आफूलाई गौरवको अनुभूति भएको उनले उल्लेख गरे । उपराष्ट्रपति पुनले विश्वमा नेपालीको पहिचान स्थापित गर्नमा नेपाली कलाको महत्वपूर्ण भूमिका रहेको बताए ।

नेपाली कलाको इतिहास दुई हजार वर्षदेखि कै रहेको र परम्परागत रुपमा धर्म, संस्कार र संस्कृतिका कला रहेकामा वर्तमानमा हरेक विधामा कला सिर्जना हुँदै आएको उनको भनाइ थियो । अन्य क्षेत्रमा जस्तै नेपाली ललितकलाको क्षेत्रले पनि समस्या र चुनौती भोगिरहेको तथा कलाकारलाई टिकाउनसमेत चुनौती रहेको उनले बताए ।

ललितकलालाई बचाइ राख्न राज्यबाट आवश्यक सहयोगको खाँचो रहेको उपराष्ट्रपति पुनले औँल्याए । कला साधना भएकाले ललितकलाप्रति आफ्नो पनि रुचि रहेको सुनाउँदै उनले नेपालको चिनारी र गौरव विश्वमाझ बचाइ राख्न ललितकलाको भूमिका अहम् छ भने ।

समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले एक महिनासम्म चल्ने ललितकला प्रदर्शनी कला क्षेत्रकै लागि महोत्सव भएको बताए । समारोहमा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले प्रदर्शनीमा ३ सय ६५ कलाकारका ४ सय २६ चित्र समावेश गरिएको जानकारी दिए ।

उक्त समारोहमा उपराष्ट्रपति पुनले एक÷एक लाख रुपैयाँ राशि रहेको ‘अरनीको प्राज्ञ सम्मान’ अग्रज कलाकार कृष्ण मानन्धर र सूर्यबहादुर चित्रकारलाई प्रदान गरे । यस्तै राष्ट्रिय ललितकला लेखन पुरस्कार पत्रकार देवेन्द्र थुम्केलीलाई र ललितकला पत्रकारिता पुरस्कार सुशीला तामाङलाई प्रदान गरिएको छ ।

सो अवसरमा विधागत रुपमा सात कलाकारलाई राष्ट्रिय ललितकला पुरस्कार, १७ जनालाई ललितकला विशेष पुरस्कार तथा सात जनालाई ललितकला प्रादेशिक पुरस्कार प्रदान गरिएको थियो ।

You might also like
Comments
Loading...