कार्यपालिकाको निर्णय कार्यान्वयनमा रेसुङ्गा नगरपालिका

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकाले पहिलो कार्यपालिकाको बैठकबाट मुख्य चार निर्णय गरेको थियो । सदरमुकामसहितको नगरपालिका भएकोले सबै गुल्मेलीको गुल्मी अस्पतालमा मिर्गौलासम्बन्धी निःशुल्क उपचार, आँखासम्बन्धी नगरपालिकाका नागरिकको निःशुल्क उपचार, जन्मदर्ता, विवाहदर्ता र मृत्युदर्तासम्बन्धीको सेवा घरमै पुगेर गर्ने र पशुपालन क्षेत्रलाई प्रभावकारी बनाउन ‘एआई’ कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय भएका थिए ।

पहिलो कार्यपालिकाका यी चार निर्णय र अन्य काम अहिले रेसुङ्गा नगरपालिकाले अभियानकै रुपमा गरिरहेको छ । गत हप्ता नगरपालिकाका ४६ आँखाका बिरामीले नेत्रज्योति संङमार्फत निःशुल्क उपचार पाए । आँखाको ज्योति गुमेका उनीहरुले नगरपालिकाको सहयोगमा मोतियाविन्दुको शल्यक्रियापछि सुन्दर संसार देख्ने अवसर पाएको अनूभूति गरे । योसँगै पहिलो कार्यपालिकाका निर्णय कार्यान्वयन भइरहेको नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए ।

नगरपालिकाले तम्घास बजारलाई सुन्दर बनाउनका लागि अव्यवस्थित तार हटाउने कामलाई पनि अगाडि बढाएको छ । नेपाल टेलिकम गुल्मी, विभिन्न केबल कार्यालय र अन्य झुण्डाइएको तारको व्यवस्थापन अघिल्लो हप्ता निर्णय गरेर यो हप्ता कार्यान्वयनमा गएको नगरप्रमुख पन्थीको भनाइ छ ।

माध्यमिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट जीपिए ल्याउने विद्यार्थीलाई मासिक चार हजार छात्रवृत्ति उपलब्ध गराउने निर्णय कार्यान्वयन गरिसकेको छ । नगरपालिकाले जन्म, विवाह र मृत्युदर्ताको काम घरघरमा पुगेर सेवा गरिरहेको छ ।

तम्घास बजारमा रहेको जीर्ण पौवालाई हटाएर नगरपालिकाले सुन्दर प्रतिक्षालय बनाउन थालेको छ । पुरानो बजारमा रहेको इन्द्रवीर पौवा भत्काएर प्रतिक्षालयको काम अगाडि बढेको छ । निजी कम्पनीलाई भाडामा दिएर रेसुङ्गाले हाटबजार सञ्चालन गरेको छ ।

तम्घास बजारको सडक कालोपत्र गरेर सुन्दर बनाउन पनि नगरपालिकाले निर्णय गरेर अगाडि बढेको छ । सडक छेउछाउमा पर्ने खानेपानीका लाइन व्यवस्थापन गर्न उपभोक्ता समितिलाई भनिएको छ । रेसुङ्गा नगरपालिकाभित्रका विभिन्न विकासका योजनाको गुणस्तरीयता र आयोजना समयमै सम्पन्न गर्न निर्माण व्यवसायीसँग छलफल गरेको नगरप्रमुख पन्थीले जानकारी दिए ।
तम्घासको सहिद चोकको शम्शेरबहादुर खत्रीको शालिकको संरक्षण र व्यवस्थित बनाउन नगरपालिकाले काम गरिरहेको छ । तम्घासको खेलमैदानका रुपमा रहेको चिदिचौरलाई व्यवस्थित बनाउने काम नगरपालिकाले अगाडि बढाएको छ ।

जिल्लाभित्रका सबै सडक पूर्वाधारको निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाउन पनि नगरपालिको अगुवाइमा जिल्ला समन्वय प्रमुख द्रोर्णबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पोडेल, सम्बन्धित कार्यालय प्रमुख र इञ्जिनीयरसँग छलफल गरेर काम अगाडि बढेको नगरप्रमुख पन्थीले बताए ।

नेपाल नगरपालिका सङ्घ लुम्बिनी प्रदेशको अध्यक्ष समेत रहनुभएका पन्थीले आफूहरुले अभियानकै रुपमा काम गरिरहेको बताए । “हामीले अरु पालिकालाईसमेत उदाहरण दिने गरी अभियानकै रुपमा काम गर्नुछ”, उनी भन्छन्, “समुन्नत गुल्मीको लागि अभियानमा रेसुङ्गाबाटै काम गरेका छौँं”, उनले भने । ‘समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान’ भन्ने मूलनाराका साथ नगरपालिकाले काम गरिरहेको जनाइएको छ ।रासस

You might also like
Comments
Loading...