चुमनुब्री गाउँपालिकाको पाँच वटा वडामा दलित सदस्यमा उम्मेदवारी खाली

गोरखा / उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको पाँचवटा वडामा दलित समुदायबाट उम्मेदवारी नपरेको पाइएको छ । गाउँपालिकाको वडा नं १, ४, ५, ६ र ७ मा दलित समुदायका लागि व्यवस्था गरिएको आरक्षण कोटामा उम्मदेवारी नपरेको सहायक निर्वाचन अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।
वडा समितिमा एक जना दलित सदस्यको अनिवार्य व्यवस्था भएको भए पनि ती वडामा सो पदमा उम्मेदवारी नपरेको उनले बताए ।
गाउँपालिकाको ७ वटा वडामध्ये २ वडामा मात्र दलित समुदायको उम्मेदवारी परेको निर्वाचन अधिकृत श्रेष्ठले बताए।

पालिकाको वडा नं २ र ३ मा मात्र दलित महिलाको उम्मेदवारी परेको निर्वाचन अधिकृत श्रेष्ठको भनाइ छ । वडा नं २ मा ल्हाक्पा डिकी कामीको उम्मेदवारी परेको छ भने वडा नं ३ मा नेकपा माओवादी केन्द्रबाट फुतानी कमिनी, नेपाली कांग्रेसबाट निरमाया विक र जनता समाजवादी पार्टीबाट निमा कामीको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैबिच चुमनुब्री गाउँपालिकामा वडाध्यक्षसहित ८ जनाको एकल उम्मेद्वारी परेपछि निर्विरोध निर्वाचित भएका छन् । वडा नं ६ मा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेद्वार सरोज लामा, सदस्य ठिमे ग्याम्जो लामा, सोनाम लामा, डोल्मा लामाको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

गाउँपालिकाको– १ मा कांग्रेसबाट कर्म सन्डुप लामा, माओवादीबाट डेजेन डोल्मा, एमालेबाट पासाङ लामाको एकमात्र उम्मेदवारी परेको छ । वडा नं ५ बिहीका सोनाम साङ्गोको पनि महिला सदस्यमा एकमात्र उम्मेदवारी परेको हो । वडा नं २ मा माओवादीको तर्फबाट ल्हाक्पा डिकी कामी सदस्यमा निर्विरोध हुनुभएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए  ।

You might also like
Comments
Loading...