देशलाई प्रतिगमन र निरङ्कुशताबाट बचाउननै गठबन्धनको जन्म भएको हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनसम्म मात्र नभएर आगामी प्रदेश र सङ्घीय निर्वाचनसम्म कायम रहने बताएका छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनले आज पोखरामा आयोजना गरेको चुनावीसभामा उनले गठबन्धन जन्मने दिनदेखि नै टुटाउने र यसलाई अघि बढ्न नदिने प्रयास भएका भन्दै उनले गठबन्धनको निरन्तरतामा जोड दिए ।

उनले भने, “राष्ट्र, संविधान र गणतन्त्रको रक्षाका लागि अघि बढेको गठन्धनलाई विभाजित गर्ने षड्यन्त्र भइरहेका छन्, गठबन्धनका शक्तिहरुले धेरै मेहनत र अप्ठ्यारोसँग जुधेर अहिलेको गठबन्धनलाई अघि बढाउनुपर्दछ, स्थानीय चुनावमा मात्र होइन, भोलि प्रदेश र सङ्घीय चुनावसम्म लैजानु आवश्यक छ ।”

अध्यक्ष दाहालले देशमा राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ युगको सुरुआत यही गठबन्धनबाटै गर्ने सङ्कल्प लिइएको बताए ।

संविधान, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशीको रक्षाका लागि गठबन्धनको जन्म भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन गरेर प्रतिगमन र प्रतिक्रान्तिकारीका विरुद्ध सङ्घर्ष नगरेको भए देश दुर्घटनामा परिसक्थ्यो भने ।

उनले भने, “देशलाई प्रतिगमन र निरङ्कुशताबाट बचाउननै यो गठबन्धनको जन्म भएको हो ।” देशका छ महानगर र ११ उपमहानगरमा गठबन्धनका साझा उम्मेदवार छान्न सजिलो नभए पनि सबैले देशको समग्र राजनीतिक स्थितिलाई विचार गरेर नेपाली जनताको भाग्य र भविष्यप्रति इमान्दार भएर निर्णय उनले बताए ।

गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन उनले मतदातासमक्ष आग्रह गरे । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा पोखरा महानगरमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य प्रमुखमा र नेपाली कांग्रेसका कोपिला रानाभाट उपप्रमुखको उम्मेदवार छन् ।

You might also like
Comments
Loading...