राष्ट्रियसभा बैठकमा आठ अध्यादेश पेश

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा विभिन्न आठ अध्यादेश पेश गरिएको छ । बैठकमा गृहमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘कोइराला’ ले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश, २०७८ पेश गरेका थिए ।

उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको तर्फबाट औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ लाई पनि सभासमक्ष पेश गरेका थिए ।

उनले नै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको तर्फबाट रेलवे अध्यादेश, २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७८ र यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश,२०७८ लाई पनि पेश गरे।

माथिल्लो सदनमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट विभिन्न मितिमा मन्त्रिपरिषद् गठन, कार्यभार तोकिएको र राष्ट्रियसभा सदस्य मनोनयनसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराएका थिए ।

बैठकमा राष्ट्रियसभाका पूर्वसदस्य लक्ष्मीदास मानन्धर पहिलो संविधानसभा सदस्य जगतबहादुर ताजपुरीया, दोस्रो संविधानसभा सदस्य दुमनसिंह थापा र प्रतिनिधिसभाका पूर्वसदस्य विष्णुराज आचार्यको निधनप्रति शोक प्रस्तावसमेत पारित गरिएको थियो । बैठक आजै साँझ ५ बजेसम्मका लागि स्थगित भएको छ ।

You might also like
Comments
Loading...